नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिने भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनाङ एकाइ संरक्षण कार्यालयले समुद्री सतहदेखि चार हजार ६५१ मिटर उचाइमा अवस्थित पोङ्कर तालसम्मको सर्वेक्षणपछि पदमार्ग निर्माण गर्ने भएको हो।
अन्नपूर्ण तेस्रोको काखमा अवस्थित यस ताललाई नयाँ पदमार्गमार्फत मनाङ उपत्यकासँग जोड्ने उद्देश्यले सर्वेक्षण गरी पदमार्ग निर्माण गर्ने योजना निर्धारण गरिएको हो। यस सर्वेक्षणको मुख्य लक्ष्य तालसम्म पुग्ने सम्भावित नयाँ पदमार्गको पहिचान तथा अध्ययन गर्नु रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना पोखराका प्रमुख रवीन कडरियाले जानकारी दिए।
उनले पोङ्कर ताललाई प्राकृतिक तथा पर्यटकको आकर्षणका रूपमा स्थापित गर्ने उद्देश्यले सर्वेक्षण गरिएको र पदमार्ग निर्माणपश्चात् यस तालको प्रवर्द्धनमा सहयोग पुग्ने बताए। अन्नपूर्ण तृतीयको हिम नदीले बनेको पोङ्कर ताल मनाङको सबैभन्दा कम अन्वेषण गरिएको प्राकृतिक स्थलमध्ये एक मानिन्छ। स्थानीयले प्रयोग गर्ने पदमार्ग पहिरोले पूर्ण रूपमा क्षति भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, एकाइ संरक्षण कार्यालय मनाङको टोलीले सुरक्षित र दिगो मार्ग पहिचान गर्न सर्वेक्षण गरी योजना अगाडि बढाएको छ।
स्थानीय यार्सागुम्बा र वन लसुन सङ्कलनका लागि यस क्षेत्रको भ्रमण गर्ने गर्छन्। यस्ता अन्वेषणात्मक सर्वेक्षणले स्थानीय समुदाय र आगन्तुक माझ संरक्षण जागरुकता बढाउँदै दिगो पारिस्थिति पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको कडरियाले बताए।
आकारमा सानो भए पनि पोङ्कर ताल वरिपरिका हिमाली दृश्य अत्यन्त मनमोहक छन्। अन्वेषणात्मक गतिविधिले दिगो पर्यापर्यटनलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय समुदाय र पर्यटनमा संरक्षणबारे सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नयाँ पदमार्ग विकास भएसँगै यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यहाँका प्राकृतिक सौन्दर्यतालाई प्रवर्द्धन गरी स्वदेश तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताइन्छ।
प्रकाशित: ९ कार्तिक २०८२ १२:११ आइतबार





