लोक सेवा आयोगले उपसचिव वा सोसरह पदको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको ठहर गर्दै एक उम्मेदवारको परीक्षा रद्द गरेको छ। आयोगले सूचना जारी गर्दै आगामी एक वर्षसम्म उनलाई आयोगद्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको जनाएको छ।
आयोगका अनुसार विज्ञापन नम्बर १६६६४–१६६७१/८२–८३ (आन्तरिक) अन्तर्गत उपसचिव वा सोसरह पदको लिखित परीक्षा अनामनगर परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो। सो परीक्षामा मास्टर आईडी ८६२९७३ र रोल नम्बर ८७२०७६ भएका योगराज गिरीले परीक्षाको विषयसँग सम्बन्धित टिपोट आफ्नो सिटको टेबलमा लेखेर प्रयोग गरेको पाइएपछि कारबाही गरिएको हो।
लोक सेवा आयोगले उक्त कार्यलाई लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) अनुसारको कसुर ठहर गरेको छ। सोही ऐनको दफा ४१ (२) बमोजिम गिरीको सम्बन्धित विज्ञापनअन्तर्गतका सबै परीक्षा रद्द गर्दै उनलाई एक वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको आयोगले जनाएको छ।
आयोगले परीक्षाको मर्यादा, निष्पक्षता र विश्वसनीयता कायम राख्न यस्तो कदम आवश्यक भएको स्पष्ट पारेको छ। उपसचिव कुलप्रसाद सापकोटाका अनुसार सार्वजनिक सेवा प्रवेश प्रक्रियामा अनुशासन र पारदर्शिता सुनिश्चित गर्न आयोगले कडाइका साथ नियम कार्यान्वयन गरिरहेको छ।
प्रकाशित: ३१ वैशाख २०८३ १०:१७ बिहीबार





