भक्तपुरस्थित समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्येपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ।
'साइबेरियन स्यान्ड प्लोभर’ नामक उक्त चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ।
नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक उक्त चरा देखेका थिए। टोलीका सदस्यहरूले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गरेका थिए। त्यसपछि सो चराको यकिन पुष्ट्याइँ गरिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ।
कमिटीमा प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव सङ्कलन गरी नतिजामा पुगेको कमिटीका अध्यक्ष डा तुल्सी सुवेदीले बताए। यो चरा आइयुसियनको रेड्लिस्ट अनुसार लोपोन्मुख सूचीमा पर्दछ। यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइन्छ भने बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्युनिल्यान्डमा रेकर्ड भएको छ।
नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको छ। रासस

प्रकाशित: ६ श्रावण २०८२ १३:४७ मंगलबार





