गाँजा खरिदका लागि पैसाको विषयमा विवाद भएपछि लमजुङको राईनास नगरपालिका–६ फुलबारीमा ७५ वर्षीया वृद्धा काली सार्कीको हंसिया प्रहार गरी बीभत्स हत्या गरिएको छ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका ४८ वर्षीय प्रेम अच्छामीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन २३ गते बेलुकी करिब ९ बजेको समयमा आरोपी अच्छामीले गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद भएपछि वृद्धाको घरमै रहेको हंसियाले घाँटी काटी हत्या गरेका थिए।
हत्या गरेपछि उनले मृतक सार्कीले शरीरमा लगाएको करिब ५० लाल तौल बराबरको सुनका गरगहनासमेत लुटेर भागेको अनुसन्धानबाट खुलेको छ।
घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरी टोलीले आरोपी अच्छामीलाई मंगलबार नियन्त्रणमा लिएको छ। पक्राउ परेका अच्छामीविरुद्ध लमजुङ जिल्ला अदालतबाट पहिलोपटक ५ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घरमा एक्लै बस्दै आएकी वृद्धा सार्कीको शव आफ्नै घरको खाटमुनि घाँटी काटिएको बीभत्स अवस्थामा फेला परेको थियो। सोही घरमा दुई वर्षदेखि भाडामा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगर कामको खोजीमा मनाङ गएर शनिबार राति घर फर्कँदा खाटमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतको नेतृत्वमा टोली र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो।
शङ्कास्पद अवस्थामा सुरुमा ५ जनालाई नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरीले अन्ततः मुख्य आरोपी अच्छामीलाई पक्राउ गरी हत्याको रहस्य खोलेको हो।
मृतक सार्कीका श्रीमान् र छोराको यसअघि नै निधन भइसकेको र छोरीको विवाह भइसकेकाले उनी घरमा एक्लै बस्दै आएकी थिइन्।
शवको बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा पोस्टमार्टम गरिएको छ।
प्रकाशित: २६ श्रावण २०८३ २१:३३ मंगलबार




