१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भक्तपुरमै भेटियो विश्वमै संकटापन्न चरा (तस्बिरहरु)

तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

नेपालमा पहिलो पटक नयाँ प्रजातिको चरा ‘साइबेरियन स्यान्ड प्लोभर’ अभिलेख गरिएको छ।

भक्तपुरको मध्यपुर थिमिस्थित मनोहरा फाँटमा भेटिएको यो चराको आधिकारिक पुष्टि भएसँगै नेपालमा पाइने चरा प्रजातिको संख्या ९०२ पुगेको छ।

तस्बिर: शत्रुहन पाण्डे

नेपाल पन्छीविद् संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चराको अभिलेखलाई आधिकारिकता प्रदान गरेको हो। यस चराको नाम नेपाली ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ।

तस्बिर: कुमुद पराजुली

चराविद्हरू कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गत असार ६ गते दिउँसो २:३० बजे मनोहरा फाँटमा चरा अवलोकन गर्ने क्रममा उक्त चरा फेला पारेको थियो।

तस्बिर: शत्रुहन पाण्डे

‘सिमसिम पानी परिरहेको थियो, अचानक तिब्बेतियन स्यान्ड प्लोभरजस्तो चरा देख्यौं र फोटो खिच्यौं,’ अवलोकनकर्तामध्येका एक न्यौपानेले भने, ‘घरमा आएर फोटो हेर्दा केही फरक पाएपछि पुष्टिका लागि पठाएका थियौं।’

तस्बिर: शत्रुहन पाण्डे

प्रारम्भिक पहिचानपछि यकिन पुष्टिका लागि टोलीले असार ९ गते तस्बिर र विवरणसहित नेपाल पन्छीविद् संघ अन्तर्गतको नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएको थियो।

तस्बिर: कुमुद पराजुली

कमिटीले प्राप्त विवरणको विस्तृत अध्ययन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँगको राय सुझाव सङ्कलनपछि यसलाई नेपालका लागि नयाँ प्रजातिको रूपमा पुष्टि गरेको हो।

तस्बिर: सुप्रदीप्त न्यौपाने

संघका अनुसार, यो चराको वैज्ञानिक नाम चाराड्रियस मङ्गोलस हो। यसअघि ‘टिबेतियन स्यान्ड प्लोभर’ र ‘साइबेरियन स्यान्ड प्लोभर’ लाई एउटै प्रजाति (लेसर स्यान्ड प्लोभर) को उप-प्रजाति मानिन्थ्यो।

तस्बिर: कुमुद पराजुली

नेपालमा ‘टिबेतियन स्यान्ड प्लोभर’ पहिले नै रेकर्ड भएको थियो। तर हालै यी दुईलाई फरक प्रजातिको रूपमा वर्गीकरण गरिएपछि ‘साइबेरियन राजपुत्रिका’ नेपालका लागि नयाँ अभिलेख बनेको हो।

तस्बिर: सुप्रदीप्त न्यौपाने

यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा ‘संकटापन्न’ वर्गमा सूचीकृत छ। रुसको साइबेरिया क्षेत्रमा मुख्य आवासीय रूपमा पाइने यो चरा बसाइँसराइको क्रममा चीन, जापान, कोरिया, इन्डोनेसिया, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशहरूमा पुग्ने गर्दछ।

तस्बिर: सुप्रदीप्त न्यौपाने

संघले नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरी महत्त्वपूर्ण योगदान गरेकोमा चराविद्हरू पराजुली, न्यौपाने र पाण्डेलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: ६ श्रावण २०८२ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App