१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन: आयोग

देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ।

निर्वाचनको प्रचारप्रसारमा तडक भडक नभएर अन्त्यन्त शालिन ढङ्गले अघि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए। यसअघिका निर्वाचनका तुलनामा यस पटक  आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोष्टर, पम्प्लेट र भित्ते लेखनबाट सहर कुरुप हुनबाट जोगिएको छ। 'राजनीतिक दलले निर्वाचमा धेरै खर्च भयो प्रचारप्रसारको समय र खर्च कम गर्ने व्यवस्था गर्न भनेपछि आचारसंहितामा त्यो व्यवस्था गरिएको हो', उनले भने, “अहिले  ध्वजापतका, पम्प्लेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मस्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, सहरको सुन्दरता पनि त कायम छ। ”

सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरु निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको महौल बनिरहेको छ। पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्क हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो। प्रतिनिधिसभा सदस्य दुई सय ७५ र प्रदेशसभा सदस्य पाँच सय ५० सिटका लागि हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन्।

नेकपा ‘एमाले’ का नेता सुवास नेम्वाङले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्क हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढदै जाने बताए। पहिलाका चुनावमा तुल व्यानरले बजार र गाँउ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अंकित पोशाकले पहिरिएको देखिन्थ्यो। त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो। यस पटकको  निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन्। आमसभा र घरदैलो समेत यसपटक  १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको भनाइ छ।

उम्मेदवार समक्ष मतदाताले अझै पनि खोइ त बाटो भनी जानेर वा नजानेर बिभिन्न माग र प्रश्न तेस्याइरहेका पूर्वसभामुख नेम्वाङ बताउँछन्। जनता अहिले पनि निर्वाचनप्रति पहिलेकै जस्तै उत्सुक रही उम्मेदवार समक्ष यस्तो काम हुनपर्‍यो भनेर माग गर्ने गरेको त्यसको  टिपोट गर्दै प्रतिबद्धता जाहेर गर्ने गरेको पाइएको छ। तीस वर्षसम्म तपाईले के के काम गर्नुभयो त भनी प्रश्न गर्दै जनताले विधायकसँग अहिले पनि कुलो, सडक, धारा/पँधेरोका मुद्दालाई नै उठाउँदै आइरहेका देखिएको छ।  

नेपाली कांग्रेसका नेत्री पुष्पा भूषालले जिल्लाको भूगोलअनुरुप प्रचारप्रसारको समय अत्यन्त काम भएको र ठूला कार्यक्रम भन्दा घरदैलोलाई नै प्राथमिकतामा दिएका कारण निर्वाचनको वातावरण नदेखिएजस्ता भए पनि निर्वाचनप्रति जनताको उत्साह निकै राम्रो रहेको प्रतिक्रिया दिइन्। लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले निर्वाचनमा मतदान गर्नका लागि जनता अत्यन्त उत्साही रहेको आफूले पाएको बताइन्। रासस

प्रकाशित: २७ कार्तिक २०७९ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App