९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

पुल निर्माण कार्य अलपत्र जोखिमपूर्ण यात्रा गर्दै स्थानीय।

कालिकोटको पलाँता गाउँपालिका–९ दाम्रीगाड(खोला)माथिको पक्की पुल निर्माण अलपत्र परेको छ। ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।  

विसं २०७७ देखि शुरु भएको पलाँता गाउँपालिका अन्तर्गत वेल्केढुंगा,मोहोर,पुलाँहा,छलाँहा सडक खण्डको बीचमा पर्ने दाम्रीगाड खोलामा पक्की पुल निर्माण नहुँदा पलाँताबासीलाई निक्कै सास्ती हुने गरेको छ। पुलको निर्माण कार्य एक बर्षदेखि ठप्प छ। पुल समयमा नबन्दा आवतजावात गर्न काठको भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय पूर्णसिंह बमले बताए।

‘लामो समय पुल नबन्दा हामीलाई सास्ती भइरहेको छ।’,उनले भने,‘राती वृद्ध,बालबालिकाले जोखिम मोलेर यात्रा गर्न परिरहेको छ। न गाडि जान्छ। कहिले सम्म कष्टकर जिवन बाँच्न पर्ने हो ? दाम्रीगाडको अवस्था उस्तै छ। नागरिकले दुख पाइरहेका छन्। ठेकेदारको लापरर्वाही भयो। पुल तयार भएन’ लामो समय देखि पुल बन्ने आशामा रहेका पलाँत गाउँपालिकाका बासिन्दा यतिखेर निराश छन्।

गाल्वा जगदम्बा सुपरस्टार जेवीर र सुपर स्टार निर्माण सेवाले  ३ करोड रुपैयाँ लागतमा काम सुरु गरेको हो। पुल निर्माणको कामले अझै गति लिन सकेको छैन। वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको निर्माण व्यवसायी तारा शाहाले बताइन्। वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन। पुल निर्माणमा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय सुमन बमले बताए।

पुल नबन्दा त्यहाँ वर्षौंदेखि नदी तर्न काठको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन। उक्त पुल निर्माण कार्य असार मसान्तमा सकिने गरी फेरि म्याथ थप गरेको निर्माण व्यवसायी तारा शाहाले बताइन्। पहिला कोरोना कहरले ढिलो भएको र अब छिटै काम सम्पन्न गर्ने गरी दशैंपछी काम सुरु गरिने उनले बताइन्।  

दाम्रीगाड खोलाको पक्की पुल कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले २०७७ मा सिलान्यास गरेका थिए। उक्त समयमा महेन्द्र बहादुर शाहीले सिलान्यास  गरेका अरु पुलको अवस्था पनि उस्तै छ। पँचालझरना गाउँपालिकाको जारकोटको पक्की पुल पनि उस्तै अवस्थामा रहेको स्थानीय भिम आचार्यले बताए। यस्तै रास्कोट नगरपालिकाको रास्कोट रंगलासापनि अलपत्र परेको स्थानीयले बताएका छन्।

प्रकाशित: ४ कार्तिक २०७९ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App