५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मतदान स्थलको वर्गीकरण गरेर सुरक्षा रणनीति बनाउँदै प्रहरी

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनको मतदान स्थलको वर्गीकरण गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालयले सुरक्षा रणनीति बनाएको छ। विभिन्न जिल्लाको भौगोलिक अवस्था र भारतसँग सीमा जोडिएका स्थानको अध्ययन गरेर प्रहरीले मतदान स्थललाई ३ भागमा वर्गीकरण गर्दै सुरक्षा रणनीति तयार पारेको हो।

कतिपय मतदान स्थल विकट क्षेत्रमा रहेकाले पुग्न सहज छैन भने खुला सीमा तथा यहाँ हुने सक्ने गैह्रकानुनी गतिविधि चुनौती रहेको छ। भारतबाट हातहतियार भित्र्याउने र निर्वाचन बिथोल्ने समूह सक्रिय हुनसक्ने कुरालाई विशेष ध्यानमा राख्दै निगरानी बढाउन थालेको प्रहरीले जनाएको छ।

सीमावर्ती जिल्ला मोरङ, सुनसरी र झापामा बढी सुरक्षा चुतौती रहेका छ। विकट र सीमावर्ती क्षेत्रमा हुन सक्ने सुरक्षा चुनौतीलाई विशेष ध्यानमा राख्दै सुरक्षा योजना बनाएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्याका लागि हुने निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रहरीले मतदान स्थललाई ३ भागमा वर्गीकरण गरेर सुरक्षा रणनीति बनाएको छ। अति संवेदनशील, संवेदनशील र सामान्य गरी ३ भागमा वर्गीकरण गरेर त्यस अनुसारको सुरक्षाकर्मी परिचान गर्ने योजना रहेको प्रदेश प्रहरी कार्यालका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

उनले ३ क्षेत्रमा वर्गीकरण गरेर निर्वाचनमा ‘एकीकृत सुरक्षा योजना’ अन्तर्गत नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी ४ वटै सुरक्षा निकाय परिचालन हुनेछ। निर्वाचनमा प्रदेशभर ३१ हजार ५ सय १ जना नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन हुने छन्। स्थानीय तहको भन्दा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १ सय १७ वटा मतदान स्थल थप संवेदनशील रहेको बताइएको छ।

स्थानीय तहको निर्वाचनमा प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल रहँदा ३ सय २१ मतदान केन्द्र अति संवेदनशीलमा वर्गीकरण गरिएको थियो। सो वर्गीकरण अनुसार १४ जिल्लामा ४ हजार ९९ मतदान केन्द्र र १ हजार ८ सय ९७ मतदान स्थल मध्ये ४ सय ३८ मतदान स्थल अति संवेदनशील वर्गीकरण गरिएको छ।

संवेदनशील ८ सय २४ र सामान्य मतदानस्थल ६ सय ३५ गरी वर्गीकरण गरिएको एसपी राईले बताए। झापामा प्रदेशकै मतदान स्थलमध्ये अति संवेदनशील धेरै संख्यामा रहेको छ। झापापछि मोरङ र सुनसरीको मतदान स्थल अति संवेदनशील क्षेत्र रहेको प्रहरीको तथ्यांकबाट पुष्टि हुन्छ। यी ३ जिल्ला भारतसँग सीमा जोडिएकाले पनि अति संवेदनशीलमा राखेर सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ।

दुई सय ८५ मतदान स्थल र ७ सय ६६ मतदान केन्द्र रहेको झापामा ९५ मतदान स्थल अति संवेदनशील, १ सय ४४ संवेदनशील र ४६ सामान्य रहेको छ। मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ३९ मतदान केन्द्र रहेकोमा ५० वटा मतदान स्थल अति संवेदनशील, १ सय ४४ संवेदनशील र १ सय १२ वटा सामान्य रहेका छन्।

मोरङको अति संवेदनशील सूचीमा विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मतदान स्थल अति संवेदनशील मानिएको छ। रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरेको छ। १ सय ६६ मतदान स्थल र ५ सय ९१ मतदान केन्द्र रहेको सुनसरीमा ५९ अति संवेदनशील, ६५ संवेदनशील र ४२ सामान्य रहेको छ।

त्यसैगरी, खोटाङ ४०, इलाम ३६, पाँचथर ३४, भोजपुर ३३, उदयपुर २१,  धनकुटा १६, ताप्लेजुङ २३, ओखलढुंगा १३, खोलुखुम्बु ११ र संखुवासभा ७ मतदानस्थल अति संवेदनशील रहेको एसपी राईले जानकारी दिए।

प्रदेशभर नेपाल प्रहरी ११ हजार १ सय ५६ र २० हजार ३ सय ४५ जना म्यादी प्रहरी परिचालन गर्ने योजना रहेको छ। मोरङमा २ हजार ८२ प्रहरी र ३ हजार ६ सय ८१ म्यादी प्रहरी, झापामा १ हजार ९ सय १८ प्रहरी र ३ हजार ५ सय ५५ म्यादी प्रहरी, सुनसरीमा १ हजार ४ सय ४९ प्रहरी र २ हजार ५ सय ४१ म्यादी प्रहरी, इलाममा ७ सय ७७ प्रहरी र १ हजार ४ सय ९२ म्यादी प्रहरी, उदयपुरमा ६ सय ९९ प्रहरी र १ हजार २ सय २७ म्यादी प्रहरी, खोटाङमा ६ सय ६ प्रहरी र १ हजार १ सय ८३ म्यादी प्रहरी परिचालन हुने छन्।

त्यस्तै, पाँचथरमा ५ सय ३४ प्रहरी र १ हजार १७ म्यादी प्रहरी, संखुवासभामा ५ सय १३ प्रहरी र ९ सय २५ म्यादी प्रहरी, धनकुटामा ५ सय २ प्रहरी र ९ सय ३० म्यादी प्रहरी, सोलुखुम्बुमा ४ सय ६५ प्रहरी र ८ सय १९ म्यादी प्रहरी, भोजपुरमा ४ सय ५८ प्रहरी र ९ सय १० म्यादी प्रहरी, ओखलढुंगामा ४ सय ३४ प्रहरी र ८ सय २१ म्यादी प्रहरी, ताप्लेजुङमा ३ सय ९४ प्रहरी र ७ सय ४१ म्यादी प्रहरी तथा तेह्रथुममा २ सय ८८ प्रहरी र ५ सय ४ जना म्यादी प्रहरी परिचालन गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

अन्य सुरक्षा निकायसँग समन्वय गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको बताउँदै, १ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाले भने, ‘खुला सीमा, भौगोलिक अवस्था र राजनैतिक विचार नमिल्दा अशान्त वातावरण हुने खतार भएकाले सुरक्षा चुनौती रहेको छ। त्यस अनुसार हुन सक्ने घटनालाई मध्यनजर गरेर सुरक्षा सयन्त्र परिचालन हुन्छ।’ उनले पछिल्लो समय निर्वाचन बहिष्कार गरौं भनेर एउटा समूह प्रचार गर्दै हिँडेकाले केही चुनौती थपिएको छ।

निर्वाचनका समयमा सीमा क्षेत्र खुला भएकाले आपराधिक गतिविधि, चोरी तस्करीका साथै साना हातहतियार ओसारपसार हुने सम्भावना बढी हुने भएकाले सीमा क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाएको बताउँदै, एसएसपी सापकोटाले भने, ‘विभिन्न दलहरुले एकअर्कालाई स्वीकार नगर्दा झडप हुने सम्भावना उत्तिकै हुन्छ। भौगोलिक विकटताले गर्दा मतदान स्थलको संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मी परिचालन हुनेछन्। विगतमा सबै जिल्लाको मतपत्र सदुरमुकाममा ल्याएर एकै ठाउँ मतगणना हुन्थ्यो। यस पटक आ–आफ्नै निर्वाचन क्षेत्रमा मतगणना हुने भएकोले पनि चुनौती बढेको छ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको छुट्टै विशेष टोली बनाए कहीँ कतै थप मद्दतका लागि जानु पर्ने भए त्यस अनुसारको तैनाथी रहने छ।

प्रकाशित: १ कार्तिक २०७९ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App