२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ।

भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दी अनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो। पाँचवटै वडाका वडा सचिव सरुवा भई गएकाले पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

अहिले बरेङका पाँचवटै वडामा स्वास्थ्य, कृषि र पशु शाखाका कर्मचारीलाई वडा सचिवको काममा खटाइएको शर्माले जानकारी दिए। प्रशासनतर्फका वडा सचिव नहुँदा प्राविधिक कर्मचारी खटाउँदा समस्या भएको छ। ‘सबै वडा सचिव सरुवा भएर जानुभयो। अहिले वडा सचिवविहीन गाउँपालिका बनेको छ तर हामीले जनताको सेवालाई निरन्तरता दिन वडामै रहेका स्वास्थ्य, कृषि र पशु शाखाका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएका छौं’, उनले भने।

बरेङ गाउँपालिका-१ को कार्यालयमा स्वास्थ्यकर्मी, वडा नं २ को कार्यालयमा कृषि प्राविधिक, ३, ४ र ५ नं वडा कार्यालयमा पशु प्राविधिक सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए। उनले तिहारपछि दरबन्दी अनुसारका सचिव पदपूर्ति गर्ने बताए। रानाका अनुसार तिहारपछि प्रशासनतर्फ पाँचौं तहका चार कर्मचारी आउने भएकाले समस्या हुँदैन।

प्रकाशित: २८ आश्विन २०७९ ०५:०३ शुक्रबार

बरेङ गाउँपालिका