७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

सहकर्मीबाट सशस्त्रका असईको हत्या

सशस्त्र प्रहरी बल सप्तरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको हत्यामा सशस्त्र प्रहरीकै संलग्नता भेटिएको छ। हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको खुल्न आएको छ। सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवको शव असोज २० गते बिहीबार सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो। यादवलाई हत्या गरी फालिएको स्थान नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारतमा पर्छ।

सिरहाको भगवानपुर गाउँपालिका–२ नहरा घर भएका असई यादव असोज १८ देखि तीन दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजले जनाएको छ। उनी असोज २१ गते शुक्रबार कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमाझ तस्बिर सार्वजनिक गरेको थियो। नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भन्दै भारतीय प्रशासनलाई जानकारी दिएका थिए। भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको थियो। असई यादवको शव निर्वस्त्र अवस्थामा फेला  परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यादवको हत्यामा सशस्त्र प्रहरी सुरक्षा बेस छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता भेटिएको छ। यादवको हत्यामा उनी कार्यरत बिओपीका इन्चार्ज कृष्ण मगरलगायत पनि अनुसन्धानको घेरामा परेका छन्। सप्तरीका सशस्त्र प्रहरी प्रमुख एसपी प्रदीप खड्का बुधबार नै हेडक्वार्टर तानिएका छन्।  

सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट प्रहरी जवानको संलग्नता देखिएको छ। उनी मात्रैले हत्या गरेका हुन् वा अन्य व्यक्ति पनि संलग्न छन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछन्। असई यादव कार्यरत बिओपी स्थायी नभई अस्थायी हो। त्यो कोरोना कहरका बेला स्थापना गरिएको पोस्ट हो। हटाइसक्नुपर्ने विभागीय निर्देशन भए पनि पोस्ट राखिराखेर त्यहाँका एसपीले गल्ती गरेको देखिएको डिआइजी मगरले बताए। एसपीका दुईतीनवटा कमजोरी देखिएका छन्। त्यही भएर उनलाई हेडक्वार्टर तानिएको उनले जानकारी दिए।

‘यो घटना अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण हो। यस घटनामा संलग्न जोकोहीको संलग्नता देखिए कारबाही गर्न मैले नेपाल प्रहरीको अनुसन्धान टोलीलाई सघाइरहेको छु,’ डिआइजी मगरले बताए। सुरक्षा स्रोतका अनुसार छिन्नमस्ता पछिल्लो समय सुपारी, मदिरालगायत तस्करीका लागि चम्किएको सुरक्षित नाका हो। यस नाका भएर तस्करी नहुने कुनै वस्तु नै छैन। जिल्लादेखि बोर्डरसम्म सेटिङ मिलाएर तस्करी चल्छ। असई यादव र प्रहरी जवान खत्रीबीच तस्करको सामान समात्ने र छोड्ने विषयमै विवाद भएको सुरक्षा स्रोतले बताएको छ। प्रहरी जवान खत्री घुमुवाका रूपमा काम गर्थे। उनले तस्करसँग लाइन मिलाएर संकलित रकम तलदेखि माथिसम्म बुझाउने गरेको स्रोतको दाबी छ। असई यादव तस्करीको राज सार्वजनिक गरिदिने भनेपछि खत्रीसहितका सशस्त्र प्रहरीकर्मीले उनको हत्याको योजना बनाएको सुरक्षा स्रोतको भनाइ छ। उनलाई मारेर शव बेपत्ता गर्ने मनशायका साथ भारतको खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सशस्त्र प्रहरीभित्र तस्करीको लाभ लिने विषयमा भएको विवादले सशस्त्र प्रहरी अधिकृतको हत्या भएको मधेस प्रदेशमा यो पहिलो घटना हो।

प्रकाशित: २७ आश्विन २०७९ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App