१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अर्घाखाँचीमा दोब्बर भाडा असुल्ने सवारी कारवाहीमा, यात्रुको भाडा फिर्ता

दसैंका बेला तोकिएभन्दा दोब्बर भाडा उठाउने व्यापक गुनासो आउन थालेपछी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडा फिर्ता गराएको छ।

मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछी ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट नटाँस्ने ६ वटा गाडीलाई जरिवाना तिराएर सम्झाई बुझाई छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बहादुर केसीले जानकारी दिए।

सवारीसाधनको भाडादर निर्धारण गरेको भएपनि काठमाण्डौ–अर्घाखाँची, बुटवल–अर्घाखाँची सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेपछी सवारी चेकजाँज गर्दा तोकिएको भन्दा बढी भाडा असुलेको पाइएको हो। ‘गोरुसिंगेबाट सन्धिखर्क जाने गाडीले ठाडा गएको समेत सन्धिखर्क सहरको भाडा उठाएका छन्,शितगंगा–३, ठाडाका सुधन पौडेलले भने,‘२२० रुपैया भाडा लिनुपर्नेमा ५०० रुपैया उठाईएको छ।’ चाडबाडका बेला सर्वसाधारण यसैगरी मर्कामा पर्ने गरेको उनले गुनासो गरे।  

तोकिएको भाडादरमा जान नसकिने भन्दै बस, हाईस तथा जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ। यात्रा गर्नुअघि नै जिप चालकले दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको जानकारी दिएको छ।  

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले भाडादर कार्यान्वयन भए/नभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने बताए। उनले भने,‘जिल्ला भित्र चल्ने सार्वजनिक यातायातहरुको भाडादर कायम छँदै छ। भाडादर मान्दैनौ भन्ने कुरा कहाँबाट आयो ? अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौं।’

मनपरी भाडा उठाएको, लगेज तथा सामानको मनपरी अतिरिक्त शुल्क तोकेको तथा यात्रुलाई अभद्र व्यवहार गर्ने गरेको यात्रुले गुनासो गरेका छन्। विशेषगरी मेलापर्वका बेला यात्रुको अत्याधिक चाप हुने भएकाले मनपरी गर्ने गरेको पाईएको हो। आईतवार बेलुकासम्म बाहिरि जिल्ला तथा देश बाहिरबाट अर्घाखाँची भित्रनेको संख्या १० हजार नाघेको छ। घटस्थापनापछी सप्तमीसम्म ५ हजार १ सय महिला, ४ हजार ५ सय पुरुष, बालबालिका गरेर जम्माजम्मी १० हजारका हाराहारीमा सर्वसाधारण जिल्ला भित्रिएका छन्। 

प्रकाशित: १६ आश्विन २०७९ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App