१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

दसैँँमा बज्ने गीतहरू

घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दशैं प्रारम्भ भइसकेको छ। रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ ।  

दशैंलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन्। हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन्। परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दशैंको रौनक भित्र्याउँछ।

सर्वाधिक बज्ने गीत हो ‘दशैं आयो’। फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दशैं भित्रिएको अनुभूत गराउँछ  लोकनाथ सापकोटाको तयार पारेको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन्। गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका हुन्। रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ।  

स्वरसम्राट नारायणगोपालको स्वर दिएको ‘बिछोडको पीडा’ पनि दशैंमा बज्ने गीतमध्येको एक हो। नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिनुभएको गीतले दशैंमा गाउँ फर्किरहेका युवाको प्रतिनिधित्व गरेको छ। ‘बिछोडको पीडा नसकी खप्न दशैंका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ। गीतलाई रत्नशमशेर थापाले लेखेका हुन्।

दशैं, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गरेकाे ‘दशैं तिहार’। रवि श्रेष्ठले शब्द लेखेको गीतमा सङ्गीत स्वयं सुगमले नै दिएका छन्।

परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दशैंमा छोराको बाटो कुरिरहनु भएको आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ। महान चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दशैं नै हो कि’। योगेश्वर अमात्यले स्वर दिएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ।  

दशैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ। दशैंको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गरेका हुन्। यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन्। वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दशैं, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउँछन्। उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ। 'मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ। दशैंलाई महशुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ। हिजोदेखि आजसम्म गीतलाई दशैंमा उत्तिकै सेलिब्रेट गरिन्छ', सङ्गीतकार बाँस्कोटाले भने।

सङ्गीतकारसँगै गायकसमेत रहेका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दशैं गीत प्रिय लाग्ने बताए। उनी भन्छन्, 'नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार भएनन्। दशैं तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन।' फिल्म झैँ चर्चा र लगानी एक्लरुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उनको भनाइ छ। रासस

प्रकाशित: १५ आश्विन २०७९ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App