१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खसी बोका बिक्री हुँदै

बडा दशैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण शुरु भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौँ थापाथलीमा अवस्थित बागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण शुरु भएको हो। कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सय वटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन्।

 

प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन्। उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्य भन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरे। थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनको भनाई छ।

उनले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताइन्। बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पु¥याएको उनको भनाई छ। प्रमुख थापाले थापाथली बिक्रि कक्षमा दैनिक ४ सय देखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताइन्।

ललितपुर सातदोबाटोबाट खसी किन्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा पुगेका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भएपनि च्याङ्ग्राको भाउ धेरै महंगो भएको प्रतिक्रिया दिए।

विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App