७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गोल्डी मृत्यु प्रकरण: श्रीमानविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

बाँकेस्थित जानकी गाउँपालिकाकी २३ वर्षीया गोल्डी बर्माको शंकास्पद मृत्यु भएकोबारे बाँके प्रहरीमा मृतकका पति निराजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ। गोल्डीका पिता पेशकार बर्माले ज्वाई निराजनले नै छोरीको हत्या गरेको आशंकामा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले पोष्टमार्टम रिपोर्टमा झुन्डिएर मृत्यु भएको उल्लेख भए पनि माइती पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी लिएर आएपछि गम्भीरतापूर्वक अनुसन्धान गरिने बताए। प्रहरी कहाँ शुक्रबार नै जाहेरी पुगे पनि प्रहरीले आइतबार दर्ता गरेको हो। मृतक गोल्डीका पति निराजन उनको मृत्यु भएको दिनदेखि फरार छन्। निराजनको परिवारले ती महिलाले आत्महत्या गरेको दाबी गरिरहेको छ। माइती पक्षले ती महिलाका श्रीमान्ले नै हत्या गरेको दाबी गरिरहेको छ। मृतकको माइती घर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दहवा हो। गोल्डीकी पाँच वर्षका एक छोरा छन्।

असोज १ गते साँझ गोल्डीले आत्महत्या प्रयास गरेको र आफूले बचाउन खोज्दाखोज्दै मृत्यु भएको उनका ससुरा गिरवल बर्मा बताउँछन्। तर, गोल्डी झुन्डिएको उनीबाहेक कसैले देखेका थिएनन्। गोल्डीका पिता पेशकार बर्माका अनुसार ज्वाई निराजन मादक पदार्थ र लागूऔषध दूव्र्यसनी थिए। उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए। उनलै छोरीको हत्या गरेर फरार भएको पेशकारको आशंका छ। पेशकारका अनुसार ज्वाई घटना भएको दिन आफूहरु पुग्दासम्म घटनास्थलमै थिए। आफूहरु पुगिसकेपछि उनी त्यहाँबाट फरार भए। यो समाचार तयार पार्दासम्म सम्पर्कमा आएका छैनन्।  

माइती पक्षले ज्वाईले नै छोरीको हत्या गरेको दाबी गरिरहेको छ। नभए उनी फरार हुनुपर्ने कुनै कारण नभएको पेशकार बताउँछन्। तर, पोष्टमार्टम रिपोर्टमा गोल्डीको मृत्युको कारण झुन्डिएर आत्महत्या नै उल्लेख छ।  

निराजनको परिवारका सदस्यहरुसँग राम्रो सम्बन्ध छैन। उनी मदिरा र लागूऔषधमा फसेको, भएको सम्पत्ति बेचेर सकेको, सम्झाउँदा झगडा गर्ने गरेको उनकै पिता गिरवल वर्मा बताउँछन्। भाइहरु छुट्टिँदा उनले पाएको करिब १८ कठ्ठा जमिन बेचेर सिध्याइसकेका उनले घर भएको जमिन र घर पनि बैंकमा राखेको गिरवल बताउँछन्। गाउँघरमा पनि निराजनले धेरै मानिसहरुलाई फसाउँदै आएको उनकी आमा नै बताउँछिन्।

प्रकाशित: १२ आश्विन २०७९ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App