गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए।
उनले सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताए।
गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरुले आफू मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए।
सशस्त्र प्रहर बल नेपालले शान्ति सुरक्षा कायमा गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नेछन् भन्ने अपेक्षा राखेको बताउँदै उनले सीमा सुरक्षामा काठिन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गरे।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तो सुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्दै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी इमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिए।
सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनु पर्ने बताए।
उनले मानव अधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिँदै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरे।
महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउँदै जस्तो सुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे।
उक्त निर्देशन सम्बोधन ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोख्रेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: १२ आश्विन २०७९ ०९:३५ बुधबार