यसको कारण हो– ती संरचना निर्माणमा अपनाइएको सावधानी। संरचना नै नभत्किएपछि मानवीय क्षतिको सम्भावना पनि घट्ने भयो। भूकम्पका बारेमा हामीले जोड्ने धेरैजसो क्षतिमा मानवनिर्मित संरचना पर्छन्। मानिसहरू भत्किएका भवनमा थिचिन्छन्। सडकमा क्षति पुग्छ। पानी, बिजुलीजस्ता अत्यावश्यक वस्तुको आपूर्ति रोकिन्छ।
घर, भवन, विद्यालय, पुलजस्ता भौतिक संरचना भएका ठाउँमा मानिसको आवतजावत पनि बाक्लो रहन्छ। यस्ता ठाउँमा भूकम्पबाट हुने क्षति कम गर्न सरकारले २०६० सालमा राष्ट्रिय भवन संहिता ल्यायो।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारी भूकम्पीय जोखिमलाई ध्यानमा राखी भवन निर्माण संहिता ल्याइए पनि कार्यान्वयन प्रभावकारी नभएको बताउँछन्। काठमाडौं, ललितपुर र धरान नगरपालिकाले लागू गरे पनि अन्य नगरपालिकामा लागू गर्न चुनौती रहेको उनको अनुभव छ। त्यो समय इन्जिनियर गाउँगाउँ नपुगेको र संहिता कार्यान्वयन हुन नसकेकाले धेरै घर भत्किएको उनी बताउँछन्। 'अहिले भने भवनसंहिता अपनाउनैपर्ने रहेछ। हामीसँग प्रविधि छन् र त्यसको प्रयोग गर्नुपर्छ भन्ने चेतना आएको छ,' उनी भन्छन्। भूकम्पले यस्ता निर्देशिका र मापदण्ड कार्यान्वयन गर्न प्रेरित गरेको उनी बताउँछन्। अहिले मानिसहरू अर्को भूकम्पको डरले पनि संहिता पालना गर्न थालेको अधिकारीले महसुस गरेका छन्।
काठमाडौं विश्वविद्यालयका अध्यापक तथा सिभिल इन्जिनियर रमेश अधिकारी घर बनाउने बेला स्ट्रक्चरल इन्जिनियरबाट डिजाइन गराएर मात्र निर्माण सुरु गर्नुपर्नेमा नेपालमा ठेकेदारलाई नै सबै जिम्मा दिइने भएकाले धेरै घर भत्किएको दाबी गर्छन्। तर, भूकम्पपछि यो चलन बिस्तारै परिवर्तन हुन लागेको उनी बताउँछन्। 'नयाँ घर बनाउने बेला के–कस्तो कुरामा ध्यान दिने भन्ने विषयमा अहिले चासो दिन थालेका छन्। भूकम्पपछि जनचेतनाको तह निकै बढेको छ,' उनी भन्छन्।
विशेषज्ञहरू कुनै पनि गाउँ वा सहरमा भूकम्पले कति असर गर्छ भन्ने कुरा त्यहाँका बासिन्दा र सरकारले संरचना र पाइपलाइनको इन्जिनियरिङ कसरी गरेका छन्, त्यसमा निर्भर हुने बताउँछन्। भूकम्पले धेरै क्षति जमिन हल्लिएका बेला गराउँछ। जमिन हल्लिने प्रक्रिया एक नियमित र जटिल घटना हो। क्षति घटी वा बढी हुनुमा घर निर्माणक्रममा अपनाइने डिजाइन, निर्माण र संरचना बनेको स्थानले महत्वपूर्ण भूमिका खेल्छ।
भूकम्पका बेला कमभन्दा कम क्षति होस् भनेर संरचना निर्माण गर्ने विज्ञानलाई भूकम्पको इन्जिनियरिङ भनिन्छ। भूकम्पले कुन ठाउँलाई कसरी हल्लाउँछ, कस्तो संरचनामा असर गर्छ, कहाँ क्षति गर्छ भन्ने अध्ययन गरी त्यसलाई थेग्ने संरचना निर्माण गर्ने प्रक्रिया यसमा समेटिने प्रमुख अधिकारी बताउँछन्। भूकम्पको आकार अर्थात् म्याग्निच्युड, केन्द्रविन्दुदेखिको दुरी र जमिनको माटोका आधारमा त्यसको क्षति आँकलन हुने उनको भनाइ छ। 'केन्द्रविन्दुबाट जति टाढा गयो, असर त्यति कम हुँदै जान्छ। म्याग्निच्युड जति ठूलो भयो उति धेरै क्षति हुन्छ,' अधिकारी थप्छन्, 'केन्द्रविन्दुबाट टाढा नै भए पनि त्यहाँको माटो भूकम्पको तरंग बढाइदिने खालको भयो भने क्षति बढ्न सक्छ।' बालुवा मिसिएको माटोमाथि ठडिएका संरचना धेरै जोखिममा हुने उनी बताउँछन्।
गत वर्षको भूकम्पपछि मानिसमा अग्लो घर बनाउन नहुने वा अग्ला भवनमा बस्न नहुने महसुस भयो। विकसित देशमा भने सानाभन्दा अग्ला भवन भूकम्पबाट सुरक्षित हुने विश्वास गरिन्छ। घरको आकार अथवा उचाइले भन्दा पनि त्यो कसरी बनेको छ भन्ने कुराले क्षति निर्धारण गर्ने अधिकारी बताउँछन्। भूकम्पप्रतिरोधी प्रविधि अपनाए घरको आकार जत्रो भए पनि क्षति कम हुनेमा उनी जोड दिन्छन्। 'भवन निर्माणका बेला ध्यान दियो भने क्षति कम गर्न सकिन्छ,' उनी भन्छन्।
संरचना जति अग्लो भयो, त्यति नै लचिलो हुने वैज्ञानिक बताउँछन्। जति लचिलो भयो, भूकम्पका बेला भत्किनबाट जोगाउन त्यति नै कम शक्ति आवश्यक हुन्छ। भूकम्पप्रतिरोधी भवन बनाउँदा संरचना डिजाइन गर्ने इन्जिनियरले होचो घरको सुरक्षाका लागि अग्लो घरका लागि भन्दा धेरै जोड लगाउनुपर्ने उनीहरूको दाबी छ। प्रयोग हुने सामग्रीले पनि त्यो संरचना कति बलियो हुन्छ भनी निर्धारण गर्छन्। संरचनामा काठ वा स्टिल प्रयोग गर्नाले कंक्रिटले भन्दा धेरै लचकता दिने वैज्ञानिक बताउँछन्।
यसको अर्थ सबै अग्ला घर सुरक्षित हुन्छन् भन्ने पनि नरहेको इन्जिनियर रमेश अधिकारी बताउँछन्। अग्लो बनाउनु खतरनाक र सुरक्षित दुवै हुन्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ। घर बनाउने बेला इन्जिनियरको प्रत्यक्ष निगरानीमा स्ल्याब, बिम, बारजस्ता पक्षको गुणस्तर नियन्त्रण, बालुवा, सिमेन्ट, इँटा छडलगायतका वस्तुको मात्रा र गुणस्तरले संरचनाको मजबुती निर्धारण गर्ने उनी बताउँछन्। 'अग्लो घर बनाउने हो भने त्यसैअनुसार जग डिजाइन गर्नुपर्छ', उनी भन्छन्। विदेशमा भवन निर्माणमा यस्ता कुरा पालना गरिने भएकाले ती सुरक्षित मानिने उनी बताउँछन्।
संरचना निर्माण गरिएको स्थानले पनि कति भूकम्पप्रतिरोधी हुने वा नहुने निर्धारण गर्छ। भूकम्पको तरंग विभिन्न खालको माटो हुँदै फैलिन्छ। माटोको प्रकृतिले पनि संरचनामा कति क्षति पुग्छ भन्ने आँकलन गर्न सकिन्छ। त्यसैले जमिनमुनिको माटोको प्रकार संरचना निर्माणका लागि महत्वपूर्ण पक्ष हो। माटोभन्दा चट्टानमाथि ठडिएका संरचना भूकम्पीय दृष्टिले सुरक्षित हुन्छन्। संरचनामुनिको माटो नरम भए त्यसमा पानी पनि हुन सक्छ। पानी छ भने भूकम्पीय धक्कासँगै त्यसले जमिन थप कमजोर बनाउँछ, तरल पदार्थजस्तै हुन पुग्छ।
घर बनाउअनुअघि माटो कस्तो छ भनेर प्रारम्भिक सर्वेक्षण गर्नुपर्नेमा इन्जिनियर अधिकारी जोड दिन्छन्। त्यो माटोले कति भार थाम्न सक्छ भनेर परीक्षण गर्नुपर्ने उनको भनाइ छ। 'साधारणबाहेक कति धान्न सक्छ भनेरसमेत परीक्षण गर्नु राम्रो हुन्छ,' उनी सुझाव दिन्छन्, 'परीक्षणपछि माटोमा केही कमजोरी भए रोकथामका उपाय अपनाउन सकिन्छ।' बालुवा मिसिएको वा कालो माटो भएको ठाउँमा घर बनाउन सकिने भए पनि केही प्रविधि अपनाउनुपर्नेमा उनी जोड दिन्छन्। नेपालमा कालो वा बालुवा मिसिएको माटोमा घर बनाउनुअघि परीक्षण गर्ने चलन निकै कम रहेको उनी बताउँछन्।
इन्जिनियर उनीहरूका डिजाइन भूकम्पप्रतिरोधी रहे/नरहेको निर्धारण गर्न परीक्षण आवश्यक मान्छन्। अमेरिकाको लस एन्जलस र जापानको कोबे सहरमा भूकम्पको समयमा धेरै घर भत्किएका थिए। त्यसपछि, त्यहाँ कडा भवन निर्माण मापदण्ड अपनाइयो। भूकम्पप्रतिरोधी उपाय नयाँ भवनका लागि निकै महत्वपूर्ण छन्। तर, भूकम्पीय जोखिम क्षेत्रका धेरै संरचना भूकम्पप्रतिरोधी इन्जिनियरिङ विकास हुनुअघि नै बनेका हुन्। त्यस्ता संरचनापछि रेट्रोफिटिङ गरेर भूकम्पप्रतिरोधी बनाउन थालिएको छ।
जत्रो घर बनाए पनि माटो परीक्षण, स्ट्रक्चरल इन्जिनियरसँग परामर्श गर्न विज्ञहरू जोड दिन्छन्। त्यसबाहेक निर्माण सामग्रीमा सम्झौता नगर्न उनीहरूको सल्लाह छ। भूकम्पले कम क्षति गर्ने सहरको परिकल्पना साकार पार्न भूकम्पप्रतिरोधी घर निर्माण गर्नुपर्ने रमेश अधिकारी बताउँछन्। नेपाल सरकारले भूकम्पपछि ल्याएको परिमार्जित मापदण्ड पालना भए सुरक्षित संरचना तयार हुनेमा उनी आशावादी छन्।
हिमाली देशमा जुनसुकै बेला भूकम्प जान सक्ने भएकाले सुरक्षित संरचना बनाउन केन्द्रप्रमुख अधिकारी पनि जोड दिन्छन्। 'भूकम्प कहिले जान्छ भन्ने प्रश्नको उत्तर कसैसँग पनि छैन। त्यसैले सुरक्षित आवास निर्माण गर्नुको विकल्प छैन,' उनी भन्छन्।
प्रकाशित: १७ वैशाख २०७३ २०:४५ शुक्रबार





