२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसबाट निर्वाचित गापा अध्यक्ष बुढा रास्वपामा प्रवेश, सभापतिलाई पद खोसेर देखाउन चुनौती

नेपाली काङ्ग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन्।

रास्वपामा प्रवेशसँगै अध्यक्ष बुढाले नेपाली काङ्ग्रेस नेतृत्वलाई कडा चुनौती दिएका छन्। आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले कुनै पनि दलले चाहेर आफ्नो पद खोस्न नसक्ने उनको दाबी छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापा र जुम्ला जिल्ला नेतृत्वप्रति लक्षित गर्दै भने, “तागत छ भने मेरो पद फालेर देखाउनुस्। यो जनताले दिएको पद हो, कसैको दया वा कृपाबाट पाएको होइन।”

उनले रास्वपा प्रवेशको तयारी भइरहेका बेला काङ्ग्रेसका नेताहरूले आफ्नो गतिविधिबारे जानकारी संकलन गर्न खोजेको आरोप समेत लगाए। साथै सञ्चारकर्मीलाई आफ्नो अभिव्यक्ति सार्वजनिक गर्न आग्रह गरे।

अध्यक्ष बुढाले अब गुठीचौर गाउँपालिका मात्र नभई सिंगो जुम्ला र कर्णाली प्रदेशलाई रास्वपामय बनाउने अभियान सुरु भएको दाबी गरे। आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा रास्वपाले जुम्लाबाट उल्लेख्य सफलता हासिल गर्ने उनको भनाइ थियो।

“हामी अवसरवादी होइनौँ, परिवर्तन चाहने समूह हौँ,” उनले भने, “देशले जे माग्छ, त्यहीँ उभिने निर्णय गरेका छौँ।”

दानबहादुर बुढाको राजनीतिक यात्रा विभिन्न दल हुँदै अघि बढेको देखिन्छ। उनी २०५७ सालमा माओवादी आन्दोलनमा सक्रिय भएका थिए। पछि एमाले हुँदै स्थानीय तह निर्वाचनअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए।

पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका बुढा दोस्रो पटक भने १ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित भएका थिए।

यसैबीच गुठीचौर गाउँपालिका–३ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष इन्द्र बुढाले पनि रास्वपामा प्रवेश गरेका छन्। रास्वपाले गाउँपालिकाका केही स्थानीय नेता तथा कार्यकर्ता पनि पार्टीमा समावेश भएको जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८३ २०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App