६ वैशाख २०८१ बिहीबार
समाज

सन्दीप प्रकरण: प्रहरीले घटनाको प्रमाण संकलन र बयान लिने काम सुरू गर्‍याे

जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको जाहेरी अनुसार निष्पक्षरुपमा अनुसन्धान गर्ने बताएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको र अनुसन्धान निष्पक्षरुपमा हुने बताएका हुन्।

प्रहरीले घटनाको प्रमाण संकलन गर्ने र बयान लिने काम पनि अगाडि बढाएको छ। प्रहरीले काठमाडौं र नगरकोटमा बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। सम्पूर्ण कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार विज्ञप्ति निकालेर राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो।  

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ। प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

उजुरीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन्। उनले भदौ ६ गते राति अन्दाजी १२ः ५ बजेसम्म पटक पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी भाद्र २१ गते प्रहरी बृत्त, गौशालामा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।’

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए।

प्रकाशित: २२ भाद्र २०७९ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App