७ वैशाख २०८१ शुक्रबार
समाज

लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा विश्वविद्यालय निर्माण गरिँदैछ।

कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके पछाडी निर्माण गरिएको नयाँ भवनमा विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका हुन्।

सो क्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय देशकै नमुना विश्वविद्यालय बन्न सक्ने बताए। प्रदेशको समुन्नत विकासका लागि यस क्षेत्रमा विश्वविद्यालयको आवश्यकतालाई मध्यनजर गरी खजुरामा रहेको विश्वविद्यालयलाई आवश्यक पर्ने ९० विघा जग्गा उपलब्ध गराउन सक्षम भएको जनाएपछि खजुरामा प्राविधिक विश्वविद्यालयको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री केसीले बताए।

गण्डकी प्रदेशपछि विश्वविद्यालय बनाउनेमा लुम्बिनी प्रदेश दोस्रो भएको केसीले सुनाए। कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी प्रदेशकाशिक्षा तथा खेलकुद मन्त्री कसीउद्दीन खाँले लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्व हुने गरी संघीय सरकारबाट स्वीकृत भइ खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरिएको बताए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिनेशप्रसाद ढकालले दक्ष जनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालय स्थापना गरिएको बताए। प्राविधिक विश्वविद्यालयमा पाँच वटा विद्यामा अध्यापन गराइने उनले जानकारी दिए। खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले दक्ष जनशक्ति उत्पादन गर्नका लागि खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना सुरु भएको बताए।

प्रकाशित: २० भाद्र २०७९ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App