१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरका ४ स्थानीय तहका युवा-युवती स्वरोजगार उन्मुख

तालिम समापनमा औजार उपकरण वितरण गरिंदै।

एक गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले विभिन्न सीपमूलक तालिममार्फत साढे ५ दर्जनलाई स्वरोजगारतर्फ उन्मुख गराएको छ।

सीपमूलक तालिम दिएर दक्ष जनशक्तिको उत्पादन गरी आत्नमिर्भर बनाउँदै स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय दातृ संस्था वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा हुरेण्डेकले सो कार्य गरेको हो। जसका लागि हुरेन्डेकले विभिन्न स्थानीय तहमा ५७ दिन लामो ‘हाउस वाईरिङ’ र ‘सिलाई-कटाई’ तालिम सम्पन्न गरेको छ।

असार १३ गतेदेखि सुरु हाउसवाईरिङ र सिलाई-कटाई तालिम भर्खरै सम्पन्न भएको संस्थाका अध्यक्ष शंकरबहादुर थापाले बताए। अध्यक्ष थापाका अनुसार सीप सिकेर आफ्नै गाउँ-ठाउँमा स्वरोजगार बनि जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले जिल्लाका उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिका तथा कटारी नगरपालिक गरी ४ स्थानीय तहमा उक्त तालिम आयोजना गरिएको हो।

थापाका अनुसार ४ वटै स्थानीयतहमा गरी ६५ जनाले तालिम लिएका छन्। जसअनुसार रौतामाई २ को भुट्टारमा २२ महिलाले ३ सय ९० घण्टे सिलाई-कटाई तालिम प्राप्त गरेका छन् भने ९ पुरुषले हाउसवाईरिङ तालिम लिएका छन्। त्यस्तै ताप्ली गाउँपालिका ५ रुपाटाँर तालिम केन्द्रमा १८ पुरुषले हाउसवाईरिङ र १६ जना महिलाले सिलाई-कटाईको सीप हासिल गरका छन्।

हुरेण्डेकका परियोजना व्यवस्थापक गोविन्द ढकालले सानो लगानी र स्थान स्रोत साधनको प्रयोगबाट गाउँघरमै जीविकोपार्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले तालिमको आयोजना गरेको बताए। उनका अनुसार तालिम अवधिभर सहभागीहरुका लागि खाने बस्नेलगायत सम्पूर्ण व्यवस्थापन संस्थाकै तर्फबाट गरिएको छ।

रुपाटार तालिम केन्द्रमा ताप्ली गाउँपालिका १, २, ३ र ५ तथा कटारी नगरपालिका ८ र ९ नम्बर वडाका युवा-युवतीको सहभागिता थियो। त्यस्तै भुट्टार तालिम केन्द्रमा रौतामाईका २, ३, ४, ५, ६, ७ र ८ नं. वडाबाट सीप सिक्न आएका थिए।

प्राविधिक प्रशिक्षण संस्था मेगा सप्लायर्स रौतहटको सहकार्यमा सञ्चालित भुट्टार तालिम केन्द्रका सहभागीहरुलाई टंकराज राईले हाउस वाईरिङ र बिनिता खड्काले सिलाई-कटाईको प्रशिक्षण दिएका थिए।

त्यस्तै रुपाटार केन्द्रका सहभागीहरुलाई हाउसवाईरिङमा मोतिराज राई र सिलाई-कटाईमा लिला मगरको प्रशिक्षण रहेको थियो। ५७ दिन लामो तालिम समापन गर्दै हुरेन्डेकले तालिम प्राप्त सहभागीहरुलाई विभिन्न आवश्यक औजार उपकरणसमेत वितरण गरेको छ। पूर्ण आवासीय सुविधासहितको तालिम ३५ लाख बजेटमा सम्पन्न गरिएको संस्थाका वित्त संयोजक दिनेश विकले बताए।

जसमध्ये ११ लाख मूल्य बराबरको सामान तालिममा लागेको उनले बताए। समापनको अवसरमा तालिमपछि उद्योग धन्दा गर्न इच्छुकहरुलाई सहयोग पुगोस् भनेर आवश्यक सिलाई-कटाई मेसिन र हाउसवाईरिङका सामान वितरण गरिएको हो। बाँकी बजेट तालिम सहजिकरण र व्यवस्थापनमा खर्च भएको संयोजक विकले बताए।

संस्थाका अनुगमन अधिकृत जितन राईका अनुसार हुरेण्डेकले जिल्लाका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिका तथा कटारी र त्रियुगा नगरपालिकामा आफ्नो कार्यक्षेत्र कामय गर्दै आएको छ। ती स्थानीय तहहरुमा हुरेण्डेकले स्वास्थ्य, शिक्षा र जीविकोपार्जन क्षेत्रमा विगत लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै बालबालिकालाई फाइदा हुने काम गर्दै आएको अधिकृत राईले बताए।

समापनमा सहभागीमध्येकी एक सविता परियारले तालिममा सिकेको सीप र ज्ञानको व्यवहारिक र व्यवसायिक प्रयोग गर्ने दृढता व्यक्त गरिन्। यो तालिमबाट बाँच्न सक्ने खुबीको विकास भएको भन्दै आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बन्न सिकेको सीपलाई उपयोग गर्ने उनले बताइन्।

यसैगरी अर्का सहभागी घमान मगरले तालिममा आर्जन गरेको सीपलाई व्यवहारमा उतारेर जिविकोपार्जनको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा साझेदार संस्था वल्र्डभिजनका प्रतिनिधि मोहन डाँगीले सीपमूलक तालिममा प्राप्त गरेको ज्ञान र सीपको व्यवसायिक उपयोग गर्न आग्रह गर्दै त्यसो गर्न सके मात्र संस्थाको योजना र उद्देश्य तथा सहभागीहरुको मेहनेत र लगानीको उपलब्धी हुने बताए।

सिकेको सीपको उपायोग गर्न सके सहभागीहरुलाई जीविकोपार्जनमा टेवा पुग्ने तथा लगानीकर्ता संस्थाको उद्देश्य पूरा हुने उनको भनाइ थियो। डाँगीले आगामी दिनमा पनि वल्र्डभिजन र हुरेण्डेकको समन्वय र सहकार्य कायमै रहने बताएका थिए।

कार्यक्रमका अन्य सहभागीहरुले यस्तो तालिमबाट दक्ष जनशक्तिको उत्पादनसँगै स्वरोजगार भइ गाउँमै सानातिना उद्योगधन्दा चलाएर आत्मनिर्भर हुन मद्दत पुग्ने बताएका थिए। उनीहरुले यसले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता युवा पुस्तालाई नहुने बताउँदै यसले समुदायका बालबालिकाको समृद्धिमा पनि सहयोग पुग्ने बताएका थिए। 

प्रकाशित: ११ भाद्र २०७९ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App