१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनाबाट ४१३ जनाको मृत्य

बागमती प्रदेशमा सवारी दुर्घटना र त्यसमा मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सवारी दुर्घटना र घाइते तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। 

आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशमा सवारी दुर्घटनामा परेर ४१३ जनाको मृत्यु भएको छ। एकहजार ७९८ वटा सवारी दुर्घटनामा ३ हजार ९९५ जना घाइते हुँदा ४१३ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ४०६ वटा मात्रै मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशमा २ लाख ५० हजार ९ वटा सवारी कारबाही हुँदा २४ करोड १ लाख ७० हजार रुपैँया राजश्व संकलन भएको छ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा एकहजार ५१२ वटा सवारी दुर्घटना भएकोमा ३३५ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ। उक्त दुर्घटनामा २ हजार ८४० जना घाइते भएको र २९५ वटा मात्र मुद्दा दर्ता भएको थियो। २०७७/७८ मा २ लाख ५८ हजार ९७२ सवारी कारबाही हुँदा २४ करोड ७४ हजार ४१५ रुपैँया राजश्व संकलन भएको थियो। यसैगरी आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशमा सवारी दुर्घटनामा ४३० जनाले ज्यान गुमाएका थिए। १ हजार २६० वटा दुर्घटना हुँदा २ हजार २७ जना घाइते भएका र ४३० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्कले देखाएको छ। २०७६/७७ मा एकलाख ५१ हजार १२१ सवारी कारबाही भएको थियो भने १० करोड ९८ लाख ६ हजार ५ सय रुपैँया राजश्व संकलन भएको थियो। 

चालु आर्थिक बर्ष २०७९/८० को साउन मसान्त सम्ममा ६६ वटा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाइसकेका छन् भने १५१ जना घाइते भएका छन्। बागमती प्रदेश प्रहरी प्रवक्ता (प्रहरी बरिष्ठ उपरीक्षक) दीपक रेग्मीले पछिल्लो समय सवारी दुर्घटना र ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको बताए। ‘सवारी दुर्घटनाको विभिन्न कारण छन्, त्यसमध्ये सवारीको चाप, साँघुरो सडक, सडकको दुरावस्था, चालकको लापरबाही लगायत मुख्य कारण हुन्’, रेग्मीले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।’

प्रकाशित: ९ भाद्र २०७९ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App