१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पाथीभरा महोत्सवको नाम ‘मुकुम्लुङ महोत्सव’ राख्न माग

पाथीभरा महोत्सवको नाम ‘मुकुम्लुङ पर्यटन महोत्सव’राख्न माग गर्दै आयोजित पत्रकार सम्मेलनका सहभागी। तस्बिर: खगेन्द्र/ नागरिक

मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’ भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।  

मुकुम्लुङ संघर्ष समिति र याक्थुङ चुम्लुङले लामो समयदेखि पाथीभरालाई मुकुम्लुङ नामाकरण गर्नुपर्ने सहितका माग राख्दै आएका छन्। संघर्ष समिति र याक्थुङ चुम्लुङ दुबैले फुङलिङमा पत्रकार सम्मेलनमार्फत चारबुँदे माग अघि सार्दै ति पूरा नभए बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन् ।  

विज्ञप्तिमा संघर्षका समितिका तर्फबाट सहसंयोजक नवीन फुरुम्बो र चुम्लुङकातर्फबाट अध्यक्ष ईन्दिरा मेन्याङ्वोको हस्ताक्षर रहेको छ। पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव नामाकरण गर्नुपर्ने, औपचारिक पत्र तथा कागजातहरु र होर्डिङ बोर्ड तथा स्वागतद्धारहरुमा मुकुम्लुङ पर्यटन महोत्सव लेखिनुपर्ने र महोत्सवका सबै प्रकृतिका कार्यक्रममा मुकुम्लुङ पर्यटन महोत्सव उधृत गर्नुपर्ने माग गरिएको छ।  

आफूहरुले सम्बन्धित पक्षहरुलाई यसबारे पूर्ववतःजानकारी गराएपनि माग सुनुवाईमा चासो नदिएको भन्दै संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले असोज ९ गते देखि १२ गते सम्म चारदिन ताप्लेजुङमा यातायात र बजार बन्द गर्ने घोषणा गरेको छ। माग सुनुवाई भए आन्दोलनका कार्यक्रमबाट पछि हट्ने समितिले जनाएको छ।  

ताप्लेजुङमा आउँदो असोज ११ देखि १३ गते सम्म तीनदिन पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको छ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मको संयुक्त आयोजना र हिमालयन् गाईड्स टे«क्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौंको मुख्य प्रायोजनमा म्याराथन तथा महोत्सव हुन लागेको हो।  

२०६५ साल देखि सुरु भई २०७६ सम्म लगातार भएको महोत्सव कोरोना संक्रमणका कारण २०७६ साल पछि भने स्थगित भएको थियो। साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव यसपटक अघिल्ला वर्षहरुभन्दा केहि समय अघि बडादशैंको बेलामा हुन लागेको छ।  

प्रकाशित: ९ भाद्र २०७९ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App