१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘सस्तो डलर’ को प्रलोभनमा ठगी धन्दा !

ठगीको आरोपमा पक्राउ परेकाहरू।तस्बिर: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार एउटा सूचना आयो। सूचनामा आफूलाई ‘सस्तोमा अमेरिकी डलर दिने भन्दै केही व्यक्तिहरूले ठगी गर्नका लागि बोलाइरहेको’ भनेर भनिएको थियो।

ती सूचनादातालाई ठगी गर्ने व्यक्तिले आफूसँग १५ लाख बराबरको अमेरिकी डलर रहेको र जसलाई ७ लाखमा दिने भनेर प्रलोभनमा पार्न खोजेको थिए। ‘तर, ती सूचनादाता उनीहरूको नियतसँग जानकार रहेछन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले भने,‘उनले सिधै हामीलाई खबर गरेर ठगी गर्ने गिरोहलाई पक्राउ गर्न सघाए।’

त्यसपछि ती सूचनादातासँगै दिउँसो १ बजेतिर एकजना प्रहरी पनि साथमा गए। पछिपछि प्रहरीको बाँकी टोली पनि गएको थियो। यसरी दुवै समूहको भेट काठमाडौंको टोखा नगरपालिकास्थित युनिक कोलोनीमा भएको थियो।

ठगी गर्ने समूहका दुईजना आएका थिए। दुवैलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडाघर स्थायी ठेगाना रहेर हाल काठमाडौंको बौद्धमा बस्ने ३२ वर्षीय समिर भनिने सञ्जय तामाङ र सिन्धुपाञ्चोक बाह्रबिसे–३ शसशेरडाँडा स्थायी ठेगाना रही हाल ललितपुर धापासी हाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेको एसपी कोइरालाले बताए। दुबैजनासँग प्रहरीले ५ रूपैयाँका ३ सय २५ नोट, १० रूपैयाँको ९ नोट, २० रूपैयाँको १ सय ९ नोट नेपाली रूपैयाँ र अमेरिकी डलर १ दरको ८ सय नोट, ५० दरको ३७ नोट पक्राउ गरेको छ। पक्राउपछि दुवैको ठगी गर्ने उद्देश्य खुलेका एसपी कोइरालाले बताए। उनले भने, ‘सस्तो दरमा अमेरिकी डलर उपलब्ध गराउने भनेर बाहिरपट्टी डलर र भित्रपट्टी नेपाली नोट र कागज राखेर ठग्ने नियत रहेको पाइयो।’ दुवैजनालाई ठगी एवं विदेशी बिनिमय ऐन, २०१९ अन्तर्गत अनुसन्धान र कारबाही प्रक्रियामा अघि बढाइएको एसपी कोइरालाले बताए।

ठगीमा गिरोह नै सक्रिय

प्रहरीका अनुसार दुबैजना अमेरिकी डलर सस्तोमा दिने भन्दै पहिल्यैदेखि ठगी धन्दामा सक्रिय रहेको पाइएको छ। ‘दुवैजनाबाट पहिला पनि ठगिएका पाँचजना सम्पर्कमा आइसकेका छन्। अझैं आउनसक्छन् भन्ने देखिएको छ,’ एसपी कोइरालाले भने।

प्रहरीका अनुसार ठगीमा उनीहरूले योजनाबद्ध काम गर्ने गरेको पाइएको छ। ‘सबैभन्दा पहिला पैसावाला मानिसको परिचय पत्ता लगाउने, त्यसपछि ‘तपार्इंकै नजिक गाउँको मानिस हुँ’ भनेर परिचय गर्ने गरेको देखियो,’ एसपी कोइरालाले भने, ‘त्यसपछि केही समयपछि ठूलो समस्या परेको भन्दै सस्तोमा आफूसँग रहेको डलर साँटिदिन भन्ने रहेछन्।’

त्यो डलर अमेरिकी पर्यटकले आफूसँग खुशी भएर दिएको भन्ने गरेको पाइएको उनले बताए। ‘सुरुमा फकाउन केही नोट सक्कली नै देखाउने पनि रहेछन्,’ उनले भने। त्यसपछि बाहिरपट्टी डलर राख्ने र भित्र कागज तथा नेपाली नोट राखेर पोका तयार गर्ने गरेको पाइएको छ। अनि काठमाडौंकै कुनै साँघुरा गल्ली, पातलो मानव बस्ती र जंगल आसपासमा बोलाउथे। जहाँ पैसा र पोका साँटासाँट गरेपछि ‘प्रहरी आउँछ भनेर घरमै गई जाँच गर्नुहोला’ छुट्टिने उपाय अपाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

‘यसरी मिसन सफल भएपछि नम्बर र मोबाइल सेट नै परिवर्तन गर्ने गरेको पाइएको छ,’ एसपी कोइरालाले भने। यस्तो प्रकारको ठगीमा पक्राउ परेका दुबैजना शृंखलाबद्ध रूपमा सक्रिय रहेको पाइएको पनि उनले बताए। उनका अनुसार काठमाडौंमा यसरी सस्तो अमेरिकी डलरको प्रलोभनमा पारेर ठगी गर्नेहरूको गिरोह र व्यक्तिको संख्या ठूलै रहेको छ। ‘यी त हात लागेका मात्रै हुन्। यसरी ठगी लामो समयदेखि भइरहेको छ। यस्ता धेरै गिरोह र व्यक्तिहरू सक्रिय छन्,’ उनले भने, ‘यो घटनापछि केही थप व्यक्तिहरू पनि हात लाग्छन्। अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित: ८ भाद्र २०७९ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App