७ वैशाख २०८१ शुक्रबार
समाज

खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो !

धोबिखोला करिडोरअन्तर्गत भत्केको पुलनजिकै सडकमा परेका खाल्डाखुल्डी। तस्बिर: उपेन्द्र/नागरिक

केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ। सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा जोखिम बढेको हो।

‘हजारौं सवारी गुड्ने सडकमाझका खाल्डा पुर्नलाई मान्छे नै मर्नुपर्ने हो र?’ ट्याक्सीचालक अर्जुन ठकुरी प्रश्न गर्छन्, ‘होइन भने जोकोहीले पनि सहजै देखिने यस्ता खाल्डा पुर्न सम्बन्धित निकाय किन पछि पर्छ? ’

चाबहिलनजिक भत्केको पुलतिरबाट ओम अस्पतालतर्फ जाँदै गर्दा तरकारी बजारअगाडिको खाल्डो निकै जोखिमयुक्त रहेको उनले सुनाए। रातको समयमा उनी आफैं सो खाल्डामा खसेको तर ठुलो दुर्घटनाबाट जोगिएको उनले बताए। ‘आफ्नै सुरमा गाडी हाँक्दै गर्दा अचानक खाल्डो भेटिन्छ,’ उनी भन्छन्, ‘झट्ट मोड्न खोज्दा दुर्घटनाको जोखिम रहन्छ।’

यहाँ मात्र होइन, अनामनगरछेउबाट चाबहिलतर्फ जाँदै गर्दा धोबिखोला करिडोरमा थुप्रै खाल्डाखुल्डी भेटिन्छन्। ‘सडकबिचमा रहेका खाल्डाका कारण थुप्रै दुर्घटना भइसकेको छ,’ पसलअगाडिको खाल्डो देखाउँदै सम्झना तामाङले भनिन्, ‘महिनौं भइसकेको छ तर पुर्न कसैले चासो देखाएका छैनन्।’

सडकमा कतै पानीका कारण त कतै ‘हेभिलोड’ का सवारीका कारण सडक भत्केको देखिन्छ। ‘सडक कमजोर भएर हो कि, गाडी धेरै भएर हो थाहा भएन,’ रातोपुलछेउका महेश गजुरेल भन्छन्, ‘पिच सकिन पाएको छैन सडक भत्किन सुरु हुन्छ।’ भत्केका सडक टाल्दाटाल्दै सडक नै ‘टाटेपाटे’ भइसकेको उनले सुनाए। ‘अझै धेरै ठाउँमा भत्किँदै छ,’ उनले भने, ‘समयमै भरिए जोखिम कम हुने थियो।’

करिडोरको निर्माणले सहरको सुन्दरता बढाउनुका साथै सर्वसाधारणलाई यो बाटो सहज बनेको थियो। करिडोरका सडकमा खाल्डाखुल्डी परेको यो पहिलो पटक भने होइन। हरेक वर्ष खाल्डाखुल्डी पर्ने र त्यसलाई टाल्ने काम हुँदै आएको छ। दुई वर्षअगाडि करिडोरको निरीक्षण गर्न गएका तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सडकमा रहेका खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका थिए। उनले निर्देशन दिएलगत्तै खाल्डाखुल्डी पुरिए।  

उपत्यकाको लाइफलाइनको रूपमा रहेको धोबीखोलाको इज्जत र सौन्दर्य खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने श्रेष्ठले त्यति बेला बताएका थिए। त्यसको केही समयपछि सहरी मन्त्री फेरिए। उनले पनि सडक अनुगमन गरे। त्यसपछि फेरि खाल्डाखुल्डी पुरिएको स्थानीय सुवर्ण थापा बताउँछन्। यति बेला भने कोही मन्त्री निरीक्षणमा नआएको उनले सुनाए।

‘जनताले गुनासो गरेर मात्र खाल्डाखुल्डी पुरिँदो रहेनछ ,’ गोपिकृष्ण हलनजिकका थापाले भने, ‘खाल्डाखुल्डी पुर्न पनि ठूलै मान्छेको निर्देशन चाहिँदो रहेछ।’ यसबाहेक करिडोरभित्र पर्ने पुलमुनि फोहोर थुपारिएको, फुटपाथमा व्यवसाय सञ्चालन गरिएका कारण पनि सडक विरूप बन्दै गएको छ। बुढानीलकण्ठदेखि शंखमूलसम्म फैलिएको करिडोर निर्माण थालेको २० वर्ष बितिसक्दा पनि यसको काम पूर्ण रूपमा सकिएको छैन।

काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत रहेको यो आयोजनाले ९० प्रतिशत काम सकिएको जनाएको छ। काठमाडौंमा भएको अव्यवस्थित सडक जामलाई व्यवस्थित गर्न २०५८ सालदेखि काम सुरु गरिएको थियो। काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता नवराज प्याकुरेलले खाल्डा–खुल्डीको विषय जानकारीमा नआएकाले बुझेर काम अगाडि बढाउने बताए। ‘यो विषयमा हामी बुझ्नेछौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम हो भने समयमै पूरा गर्नेछौं।’

प्रकाशित: ८ भाद्र २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App