११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालगायत ४ दलीय समूहले आव्हान गरेको नेपाल बन्दको उदयपुरमा आंशिक प्रभाव परेको छ। बन्दका कारण सदरमुकाम गाईघाट बजारका पसल, संस्थागत विद्यालय, निजी शैक्षिक संस्थाहरु तथा लामा र छोटा दुरीका सवारी साधन बिहानदेखि बन्द छन्।

सरकरी कार्यालय तथा सामुदायिक विद्यालयहरु भने सुचारु छन्। बन्दकर्ताहरु बिहान केहीबेर चोक र सडकहरुमा परिचालन भएर गाडी नचलाउन र पसल नखोल्न सामान्य आग्रह गरेको देखिएको थियो। तर, सम्भावित समस्या आउन नदिन परिचालन गरिएका सशस्त्र र जनपथ प्रहरी देखेर छेउ लागेका थिए। बन्दको क्रममा कतै कुनै अशान्ति र धरपकड अहिलेसम्भम नभएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख एसपी ग्यानेन्द्र फुयाँलले सदरमुकाम‌ शान्त रहेको र अन्यत्र पनि कतै नराम्रो घटनाको खबर अहिलेसम्म नआएको बताए। उनले बिहान बाहिरबाट आउने र जिल्ला बाहिर छुट्ने लामो तथा छोटा दुरीका गाडीहरू छुटिसकेको बताए। विप्लव नेकपा, ऋषि कटेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा समाजवादी गरी ४ दलीय समूहले आव्हान गरेको हो।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा महँगी निन्त्रण, जनविरोधी गतिविधि बन्द गर्न पनि प्रतिबन्ध फुकुवा गर्ने, देशभर थुनामा रहेका नेता कार्यकर्ता बिनाशर्त रिहा गर्ने तथा झुटा मुद्दाहरु खारेज गर्ने गरी सरकारले नेकपासँग ०७७ फागुन २१ गते गरेको ३ बुँदे सम्झौता उल्लंघन गरेको विरोधमा बन्द गरिएको उल्लेख छ।

साथै सरकारले गरेको ३ बुँदे सम्झौता विपरीत हाल आएर नेकपाका नेता कार्यकर्तामाथि लागेको झुटा मुद्दा व्यूताएर पक्राउ पुर्जी जारी गरेको, भ्रष्टाचार र अनियमितता बढाएको विरोधमा पनि यो बन्द गर्नु परेको नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए। बन्द गर्नुको कारण राष्ट्रघाति सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लागू गर्न खोजेको पनि उनको जिकिर छ।

प्रकाशित: ७ भाद्र २०७९ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App