८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बीमा रकम असुल्न टिप्परमा आगजनी

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको मौका छोपी दाङमा चालक र सहचालक आफैंले टिप्परमा आगो लगाएका छन्।

बन्दका क्रममा आगो लगाउँदा बन्दकर्ताहरुले आगजनी गरेको भन्न सजिलो हुने नियतका साथ टिप्परमा चालक राप्ती गाउँपालिका ८ का अरुण चौधरी र सहचालक गढवा गाउँपालिका ७ का आकाश चौधरीले मिलेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरुले गाडी पुरानो भएको र बीमा रकम असुल्नका लागि गाडीमा आगो लगाएको प्रहरी समक्ष बयान दिएका छन्। घोराही लमही सडक खण्डको कुईरेपानी भन्ने स्थानमा मंगलबार बिहान रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लागेको थियो। तर उक्त टिप्पर बिग्रिएर दुई दिनअघि ग्यारेजमा मर्मतका लागि राखिएको प्रहरीले तथ्य फेला पारेको थियो।

त्यसपछि प्रहरीले उक्त गाडीमा भएको आगजनीका बारेमा शंका गर्‍यो। अनि चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ थालेको थियो। उनीहरुले सुरुमा ४/५ जनाको अज्ञात समूह आएर गाडीमा आगजनी गरेर भागेको बयान दिएका थिए। तर पछि उनीहरु दुवैले उक्त टिप्परमा आगजनी आफूहरुले नै गरेको बयान दिएका थिए। तर उनीहरुले टिप्पर मालिक घोराही १८ का धनेश्वर भण्डारीको सहमतिमा आगजनी गरेको प्रहरीलाई बयान दिएका थिए।

‘सुरुमा हामीहरुलाई घटना बारे आशंका भयो र हामीहरुले चालक र सहचालक माथि नै आशंका गरेर सोधपुछ गर्‍यौँ,’ दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘पछि उनीहरुले साहुले नै आगो लगाउन भनेपछि आफूहरुले आगो लगाएको’ बयान दिए।  एसपी काफ्लेका अनुसार गाडी धनी भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुले गाडीको बीमा रकम असुल्नका लागि आफैं गाडीमा आगजनी गरेको खुल्न आएको एसपी काफ्लेले जानकारी दिए। ‘बीमा रकम असुल्नका लागि आफैँले  गाडीमा आगजनी गरेको खुल्यो, ’ एसपी काफ्लेले भने, ‘अहिले तीनैजनालाई नियन्त्रणमा लिएका छौँ।’  गाडी पुरानो भएको र मर्मतका लागि खर्च धेरै आउन थालेको भन्दै आगजनी गरेर बीमा रकम असुल्ने नियतमा गाडी धनी देखिएको एसपी काफ्लेले जानकारी दिए। आगजनीबाट टिप्पर पुरै जलेको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App