७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली राजमार्गमा झस्किँदो यात्रा

जिर्ण कर्णाली राजमार्ग गाडी गुडाउन सकस।

कालिकोटको खाँडाचक्र नगरपालिका—६ का दमनबहादुर शाही लामो समयपछि जुम्ला जान बस चढे। कालिकोट देखि जुम्ला जान जम्मा ८२ किलोमिटर सडक पार गर्नु पर्छ। वर्षातको समयमा मोटरसाईकलको यात्रा जोखिम हुन्छ भनेर बसको यात्रा गरेका शाही जुम्ला पुग्दा १६० पटक आफ्नो सातो गएको सुनाउन्छन्। पलपल झस्कीदै यात्रा गर्दा मुटुले समेत काम गर्न छोडेको यात्रु शाहीको भनाई छ।

सुर्खेतको बाङगेसिमलदेखि जुम्ला सम्मको दूरी २३२ किलोमिटर छ। कालिकोट खण्ड पुग्न १५० किलोमिटरको सडक पार गर्नुपर्छ। कर्णाली राजमार्गका सयौँ  ठाउँमा यात्रुलाई निकै त्रास हुन्छ। दैलेखको ढुङ्गेश्वर बजारदेखि जुम्मा सम्मै तल कर्णाली नदी डर लाग्दो भिरमा सानो सडकमा बस ३० देखि ५० सम्मको गतिमा गुडिरहेका हुन्छन्। सधैँ बानी परेका यात्रुले त जसोतसो छाती दरो बनाउछन्। तर मोटरसाईकल, सानो जिपमा यात्रा गरेकाहरु बसमा चढ्ने बितिकै आतिन्छन्। सागुरो कच्ची सडक त्यसैमा खाल्डाखुल्डी, माथि भिरबाट वर्षातको पानीले बगाएको माटो सडकमा थुप्रिएको छ।  

गाडी चालकले जोखिमका बीचमा भिरपट्टीका चक्का सडक भन्दा तल झर्ने गरी गाडीलाई चलाएको देखेर झन् यात्रुको सातै जान्छ। जुम्लाबाट नेपालगन्ज जाँदै गरेका टिकापुरका नविन पुन मगरले जाँदा आकाशको बाटो भएर गए केही डर भएन। तर आउँदा बसमा पसिना पसिना नै भएको सुनाए। जुम्ला बाट कालिकोटसम्म त पुगियो, तर सुर्खेत सम्म कसरी जाने होला भन्दै आफूले मनभरि चिन्ता बोकेको सुनाए।  

कालिकोट खण्डका मात्र गगनेखोला,ज्यानमाराको भिर,सुनारखोला,पिलि,राँचुली,बिहानीखोला,लगायतका दर्जन भन्दा बढि ठाउँमा गाडी कोल्टो परेर गुड्ने गरेका छन्। बिग्रेको सडक त्यसैमा माथिबाट आएको स–साना पहिराका थुम्काले सडकको नामनिसाना छैन। त्यसैमा चालकले गाडी चलाउँदा यात्रुको सातो जानु स्वभाविक भएको केही बहादुर मन भएका यात्रुको भनाई छ।

रास्कोटका लंक कार्कीले ज्यानको आस मारेर भगवानलाई साक्षी राखेर यात्रा गर्ने गरेको सुनाए। सडक, ठाउँ धेरै जोखिम होइन। हामीले सुदुरपश्चिमको भाँसुभिर,मुग्लिनको किष्णभिर, लगायतका ठाउँको यात्रा गरेका छौं। त्यहाँ सडक सुरक्षाका लागि वार हालिएको छ भने सडक पनि खुला ठूलो बनाएका कारणले डर लाग्दैन। तर कर्णाली राजमार्गमा पुरै गाडीका टायर समेत अटाउदैनन्। अनि यस्तो ठाउँमा यात्रा गर्दा कसलाई डर लाग्दैन होला कार्कीले भने। सडकको स्तरउन्नति, मर्मतका लागि वर्षेनी बजेट आउँछ। तर वर्षात्मा आएको पहिरो पन्छाउन र कुनै कुनै ठाउँमा ओटासिल टालटुलमै खर्च हुने गरेको छ। स –साना कोटेशन निकाल्ने र ठेक्का दिने गरेकाले कर्णाली राजमार्ग जीर्णकै स्थानमा रहेको निमार्ण व्यवसायीहरुको भनाई छ।  

निमार्ण व्यवसायी अजबहादुर शाहीले कार्यालय र ठेकेदार मिलेर कोटेशन हाल्ने र बजेट टालटुलमै खर्च हुने हुँदा सडकको स्तर उस्तै रहेको सुनाए। सरकारले एकै पटक अर्बका ठेक्का गर्ने, भिर भएको ठाउँमा पर्खाल लगाउने र सडक अलि फराकिलो बनाउने, खोलामा पुल, पानी बग्ने ठाउँमा नाली बनाए सबै भन्दा हेर्न लायकको सडक कर्णाली राजमार्ग हुने व्यवसायी शाहीको भनाई छ।  

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले पहिरो झरिरहने ठाउँमा सडक मर्मत नगर्ने कार्यालयको निति रहेको सुनाए। उनले नाली के कारणले वनेन त्यो थाह नभएको भन्दै केही ठाउँको सडक सुधारका लागि ठेक्का भईरहेको भन्दै वाँकी कुरा कार्यालयका सबै कागजपत्र हेरेर भन्न सकिने भन्दै फोन सम्पर्कवाट बाहिरिए। कार्यालयका कर्मचारीको लापर्वाहीले कर्णाली राजमार्ग सुधार नभएको आम नागरिकको बुझाई छ। तर कार्यालयका कर्मचारी भने आफ्नो कार्यालयको निती अनुसार काम हुने भन्दै पन्छिने गरेका छन्। त्यसले गर्दा कर्णाली राजमार्ग सुधार भन्दा जिर्ण बन्दै गएको छ।

जिर्ण कर्णाली राजमार्ग गाडी गुडाउन सकस तस्बिरःललित विष्ट

 

प्रकाशित: ७ भाद्र २०७९ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App