१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अबको सत्याग्रह सत्तालाई मात्र होइन, प्रतिपक्षीलाई पनि महँगो पर्नेछः डा. केसी

इलाम अस्पतालमा बिरामीको उपचार गर्दै डा.गोविन्द केसी।

चिकित्सा शिक्षा सुधार, सुशासन र न्यायका लागि डेढ दशकदेखि अभियान चलाइरहेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले अबको सत्याग्रह सत्तापक्षका लागिमात्र नभइ प्रतिपक्षका लागिसमेत महँगो पर्ने चेतावनी दिएका छन्। उनले नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य–शिक्षा र सेवाका लागि आफ्नो २०औं सत्याग्रह केन्द्रित हुने बताएका छन्।

इलाम अस्पतालमा बिरामीको उपचार गरिरहेका डा.केसीले पत्रकारहरूसँग कुरा गर्दै गरिब नागरिकको उपचारका लागि सत्ता र प्रतिपक्ष गम्भीर नभएको बताए। ‘अहिले एउटा दलको सरकार होला, अस्ति अर्काे दलको सरकार थियो। तर, यी कुनै सरकारले गरिबको उपचार सहज बनाउन चासो दिएनन्,’ डा.केसीले भने, ‘त्यसैले अबको सत्याग्रहले सत्तापक्षलाई मात्र होइन, प्रतिपक्षीलाई समेत बलियो दबाव सिर्जना गर्नेछ।’

डा.केसीले आउँदो १२ गतेदेखि आफ्नो २०औं सत्याग्रह हुने यसअघि नै घोषणा गरिसकेका छन्। उनले विशेषगरी चिकित्सा शिक्षा ऐनका व्यवस्था लागू गर्न र सर्वसाधारणले सरकारी अस्पतालमा पाउने निःशुल्क औषधिमा भइरहेको विकृति हटाउन आफूले सत्याग्रह केन्द्रित गर्ने बताए। ‘अबको सत्याग्रह निर्वाचनको मुखमा छ र त्यो सत्याग्रहबारे ती दललाई भोट हालेर जिताउने मतदाताले समेत स्वास्थ्य क्षेत्रमा भइरहेको चरम विकृति थाहा पाउने छन्,’ उनले भने, ‘त्यसैले अबको सत्याग्रहबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सत्तापक्षमात्र होइन, विपक्षी दल पनि हुनेछ।’

डा.केसीले चिकित्सा शिक्षा ऐनले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने व्यवस्था गरेपनि कार्यान्वयनमा सरकार उदासीन रहेको बताए। ‘ऐनले व्यवस्था गरेअनुसार प्रदेशहरूमा मेडिकल कलेज स्थापना गर्न अहिलेको र यसअघिको सरकारसमेत गम्भीर छैनन्,’ उनले भने, ‘यी दल र नेताले दुर्गम क्षेत्रमा मेडिकल कलेज बनाउने छैनन, बरु कतैबाट बन्न लाग्यो भने पनि बन्न दिँदैनन्।’ उनले २०८५ सालपछि स्वास्थ्यलाई सेवा मूलक बनाउने ऐनमा व्यवस्था रहेपनि त्यसबारे अहिलेसम्म सम्भाव्यता अध्ययनसमेत हुन नसकेको जनाए।

डा. केसीले सुदूरपश्चिमको गेटामा सरकारी मेडिकल कलेज स्थापना भएपनि त्यो सञ्चालन अनिश्चित रहेको बताए। ‘दाङमा प्रतिष्ठान खुल्यो, संरचना बनेको छैन । अरू प्रदेशमा त मेडिकल कलेजका लागि भौतिक संरचना निर्माणको काम अहिलेसम्म सुरु नै भएको छैन,’ उनले भने, ‘निजी मेडिकल कलेजमा नेताहरूको स्वार्थ जोडिएको छ।’ उनले अभियन्ताहरूको आन्दोलन र दबावले चिकित्सा क्षेत्रमा केही नीतिगत सुधार भएपनि पूर्ण कार्यान्वयन हुन नसकेको बताए।

‘सुधार भएको छ तर कार्यान्वयन गर्ने नै सोच हो भने यति धेरै समय लाग्नुपर्ने होइन,’ उनले भने, ‘सरकारले आफैं गर्नुपर्ने कामलाई हामीले आवाज उठाइदिनुपर्ने, दबाव दिनुपर्ने अवस्था दुुःखद् छ। कतिपय सरकारको पालामा त पाएको उपलब्धिसमेत गुम्ने अवस्थासमेत आयो।’ केसीले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क प्रदान गरिने औषधिको संख्या पनि बढ्नुको साटो झन् घटिरहेको बताए। ‘२५ वर्षअघि नै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधिको अवधारणा आएको थियो,’ उनले भने, ‘तर, अहिलेसम्म यो सुविधा बढ्नुको साटो झन्–झन् घटिरहेको छ। तोकिएको संख्यामा निःशुल्क औषधि अस्पतालहरूमा पाइँदैन।’

स्वास्थ्यसम्बन्धी संस्थानहरूमा भागबन्डामा भइरहेको अयोग्य व्यक्तिको नियुक्ति रोक्न पनि उनले माग गरे। ‘स्वास्थ्य सेवा दिने अस्पतालहरूमा स्थायी कर्मचारी व्यवस्था गर्नै नसक्नु अर्काे जटिल समस्या छ,’ उनले भने, ‘सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने ठाउँ चाहिँ करारहरूले मात्रै चलाउनु कतिको बेवास्ता र बेइमानी हो?’ स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको गुणस्तर सुधार्न देशमा सुशासन र राजनीतिक संस्कार आवश्यक पर्ने उनको भनाइ छ। ‘सर्वसाधारण बोलेनन, अधिकारबारे आफैं सचेत भएनन् भने यी अगुवा र नेताले सधैं देशलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने थलोमात्रै बनाउने छन्,’ डा.केसीले भने, ‘सर्वसाधारण कसरी हातमुख जोर्ने भन्ने चिन्तामा छन्, नेताहरू पटक–पटक कसरी देश लुट्ने भन्ने मौका हेरिरहेका छन्।’

‘के भएका तपाइँको आउँदो सत्याग्रह स्थगित हुनेछ?’ सञ्चारकर्मीको जिज्ञासामा डा.केसीले भने, ‘ब्ल्याक एन्ड ह्वाइट सहमति हुनुुपर्छ,’ उनले भने, ‘म र हाम्रो टिमलाई चित्तबुझ्दो वातावरण बनेमात्रै सत्याग्रहबारे सोच्न सकिन्छ।’ चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसीले यसअघि १९ पटक सत्याग्रह गरिसकेका छन्। उनले आफ्नो सत्याग्रह र यसमा सुधार चाहने समूहको दबाबका कारण चिकित्सा आयोग, चिकित्सा शिक्षा ऐन बनेको बताए।

‘यी उपलब्धि भएका छन् तर अझैसम्म कार्यान्वयन र व्यावहारिक रूपमा सुधारको संकेत पाउन सकिएको छैन। त्यसका लागि म सधैं अभियन्ता बन्न उत्साहित छु,’ उनले भने, ‘सुरु–सुरुमा यो मान्छे कति धेरै अनशन बसेको होला, केका लागि होला भन्थे धेरैले, अचेल त देशमा केही समस्या आयो भने यो मान्छेले किन सत्याग्रह नगरेको होला भन्ने सोच हुन थालेको छ, म निकै उत्साहित छु।’ साउन २३ देखि भदौ ३ सम्म डा. केसीले इलाम अस्पतालमा हाडजोर्नीका बिरामी जाँच गरेका थिए। उनले करिब ६ सयभन्दा धेरै बिरामी जाँच गरेको अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०७९ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App