४ वैशाख २०८१ मंगलबार
समाज

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

विद्यार्थीले चलाएको सवारी चेकजाँच गर्दै ट्राफिक प्रहरी। तस्बिर सौजन्य: काठमाडौं उपत्यका ट्राफिक कार्यालय

 उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।

कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुईपांग्रेकै दुर्घटनाबाट भएका थिए। यी १ सय १७ मध्ये ५८ जना दुईपांग्रेको ठक्करबाट मृत्यु भएका पैदलयात्रु हुन्।

यसरी दुर्घटनामा पर्नेहरूमा ज्यादातर १७ देखि ३५ वर्ष उमेर समूहका रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। त्यसमा पनि बढीजसो विद्यार्थी नै रहेको कार्यालयको अनुभव छ। यही अनुभवका आधारमा ट्राफिक कार्यालयले विद्यार्थी लक्षित सडक सुरक्षा योजना सुरु गरेको हो। झन्डै एक सातादेखि विद्यालय, कलेज र विभिन्न शैक्षिक प्रतिष्ठानको समयलाई ध्यानमा राखेर ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’लाई बढावा दिइएको छ।

हालसम्ममा झन्डै ३ सय विद्यार्थीलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्ट बताउँछन्। उनका अनुसार बिहीबार मात्रै १ सय १४ जना चालक कारबाहीमा परेका छन्।

‘विशेषगरी बिहानको ५ बजेदेखि ७ बजेको समयलाई फोकस गरेर हामीले यो अभियान चलाइरहेका छौं,’ उनले भने, ‘सुरुवातदेखि नै ठुलै मात्रामा विद्यार्थीहरूबाट ट्राफिक नियम उल्लंघनका घटना देखिएका छन्।’

यस्तोमा सवारी चालक अनुमतिपत्र प्राप्त नै नगरी साधन चलाउने, आवश्यक कागजपत्र साथमा नराख्ने, सवारी चलाउँदा लापरबाही गर्ने, क्षमताभन्दा बढी यात्रु चढेर हिँड्ने, तीव्र गतिमा हाँक्ने, हेल्मेट लगायत सुरक्षा सामग्री नलाउने, मदिरा र लागुऔषधजन्य पदार्थ सेवन गरेर सवारी चलाउनेलगायत प्रवृत्ति पाइएको एसएसपी भट्ट बताउँछन्।

‘बिल्कुलै रफ स्वरूप भेटियो। एक त किशोर उमेर छ, त्यसैमा पनि ट्राफिक नियमहरूप्रति पुरै लापरबाह रूप देखिएको छ। यसमा यो अभियान अत्यावश्यक देखिएको छ,’ उनी भन्छन्।

विद्यालयकेन्द्रित सचेतनामा जोड

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षालाई ध्यान दिएर विद्यालय तथा कलेज केन्द्रित सचेतना कार्यक्रम पनि गर्दै आएको छ। यसमा विद्यालय तथा कलेजमै पुगेर सडक सुरक्षा, ट्राफिक नियमलगायत विषयमा विद्यार्थीलाई अभिमुखीकरण गर्ने गरिएको डिआइजी चौधरीले जनाइन्।

घटनाको दर देखेपछि अभियान

सडक दुर्घटनामा दुईपांग्रेको उच्च आँकडा र त्यसमा किशोर र युवा उमेर समूहका चालकहरूको भूमिका देखिएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेको कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मीरा चौधरीले बताइन्।

‘अघिल्ला आर्थिक वर्षको तथ्यांक हेर्दा एकदमै डरलाग्दो आँकडा देखियो। त्यसबाहेक अभिभावक र जनसमुदाय स्तरबाट पनि माग भएर आयो,’ उनले भनिन्, ‘त्यही कारण हामीले यो अभियान थालेका हौं।’

विद्यार्थीलाई सचेत र सावधान पार्दै अनुशासनमा राख्न सके काठमाडौं उपत्यकाको सडक दुर्घटना ह्वात्तै घटाउन सकिने पनि देखिएको उनको धारणा छ। ‘अक्सर विद्यार्थीहरू नै दुईपांग्रे चलाउँछन्। दुर्घटनामा उनीहरूको नै उपस्थिति बढिरहेको ट्रेन्डले पनि देखाउँछ। त्यसकारण विद्यार्थी लक्षित कार्यक्रम चलाएका हौं,’ उनले थपिन्। विद्यार्थीहरूलाई किशोर उमेरमै सवारी चालक अनुमतिपत्र नलिई सवारीसाधन नदिन अभिभावक पनि सतर्क हुनुपर्ने डिआइजी चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘किशोर उमेरमा उनीहरूलाई त्यो रहर लाग्छ नै। तर अभिभावक नै सचेत हुनु जरुरी देखिन्छ।’

यसबाहेक नसालु पदार्थ सेवन गरेर सवारी चलाउने विद्यार्थीहरू देखिनु झन् खतरानाक अवस्था देखिएको एसएसपी भट्ट बताए। उनले भने, ‘एकाबिहानै नसा सेवन गरेर सवारी हाँक्ने विद्यार्थी पनि देखिए। यो निकै चिन्ताजनक विषय छ।’

प्रकाशित: ४ भाद्र २०७९ ००:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App