१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बर्सेनि कान्द्राको बाढीले सास्ती

कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो। सेवा लिनका लागि कान्द्रा नदी डुंगा तरेर नगरपालिका आउनुपर्ने उनकाे बाध्यता छ। नदी तर्न प्रतिव्यक्ति  २०रूपैयाँ तिर्नुपर्छ।

'नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ', बोहराले भने, 'दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ।'

भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुंगा  सञ्चालनको ठेक्का दिएको छ। ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो। वार्षिकरूपमा सबैभन्दा बढी राजस्व संकलन नदी ठेक्काबाट हुन्छ।

नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ। केही ठाउँमा स्थानीय सरकारले झोलुङ्गे पुल निर्माण गरेका कारण आवतजावत सहज छ।  हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुंगाको भरमा भजनी बजार पुग्छन्। कान्द्रामा अहिलेसम्म तीन झोलुङ्गे पुल निर्माण भएका छन्।

नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताउछन्। उनले डुंगा  निःशुल्क चढ्न पाउनुपर्ने बताउछन्। 'सबैसँग पैसा हुँदैन' उनले भने।

वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्छन। उनले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको २० रूपैयाँ डुंगा सञ्चालकलाई तिर्छन्। 'आम्दानीको स्रोत छैन। घरबाट पैसा माग्न सधैँ सकिदैन' उनले भने। पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन्। बजार क्षेत्रमा महुन्याल माध्यमिक  नमूना विद्यालय छ। वर्षात्को समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन्।

स्वास्थ्योपचारका लागि पनि नदीपारिका नागरिकले भजनी बजार नै आउनुपर्छ। सामान्य उपचारका लागि पनि बजार आउनुपर्ने बाध्यता रहेको स्थानीय कृष्ण चौधरी बताउछन्। 'रातिको समयमा बिरामीलाई झनै समस्या हुन्छ', उनले भने। 

हुलाकी राजमार्गको थेकीपुरमा पक्की पुल निर्माण भएपछि समस्या समाधान हसने स्थानीयवासीको भनाइ छ। पुल निर्माणको काम ११ वर्षअघि सुरु भएको हो। अझै पूरा हुनसकेको छैन। चार करोड ४३ लाखमा साल्पारशेर्पा लामा बिरुवाले संयुक्तरूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो। 

पुल निर्माणका लागि निर्माण कम्पनीले ३० महिनाको समय पाएको थियो। समयावधि पटक–पटक थप्ने गरिएको छ।  हुलाकी राजमार्ग आयोजना धनगढीका  इञ्जीनियर पदम मडै पुरानो तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिने बताए।रासस

प्रकाशित: ३ भाद्र २०७९ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App