८ वैशाख २०८१ शनिबार
समाज

कोभिड–१९ का कारण बन्द नाका खुलेनन्

फाइल तस्बिर

चार वर्षदेखि बन्द उत्तरी ताप्लेजुङमा रहेको सीमावर्ती टिपताला नाका खुलाई सीमा क्षेत्रका नेपाली बासिन्दाको दैनिकी सहज बनाइदिने कार्यको सहजीकरण गरिदिन फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ।  

कोभिड– १९ महामारीको सुरुआतसँगै नाका बन्द रहेको र नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला, फले,याङ्मा र घुन्सासहितका बासिन्दाहरूले आफ्नो उत्पादन निर्यात र उपभोग्य वस्तु आयात गर्न नपाएको पालिकाले औंल्याएको छ।

गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ, गलैंचा, छुर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकाले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताएका छन्।  

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य वस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाइ भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ। 

सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु आयात–निर्यातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारमै निर्भर रहने गरेको र नाका बन्द भएपछि आयात–निर्यात ठप्प भई स्थानीयको दैनिकी कष्टकर बनेको पीडा बुझी नाका खुलाउने कार्यको सहजीकरणका लागि पालिकाले प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको हो। उत्तरी सीमावर्ती क्षेत्रमा सदरमुकाम फुङलिङसँगको सडक सञ्जालसमेत जोडिइसकेको छैन।  

नाका सञ्चालन नहुँदा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्दा ढुवानी खर्च खरिद गरेको मूल्यभन्दा तीनगुणाभन्दा बढी महँगो पर्न जाने अवस्थासमेत गाउँपालिकाले औंल्याएको छ। नाका सञ्चालन नहुँदा बिरामी तथा आपतकालीन अवस्थाका मानिसलाई सदरमुकाम फुङलिङसम्म पुग्न तीनदिनसम्म लाग्ने गरेको भन्दै पालिकाले नाका सञ्चालनमा ल्याउने वातावरणका लागि सहजीकरण गरिदिन प्रशासनलाई अनुरोध गरेको छ ।

प्रकाशित: १ भाद्र २०७९ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App