coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इञ्जिनियरिङ अध्ययन नगरी बनाइएको पोखरी फुट्दा दोलखामा ५ घर क्षति, दुई बस्ती जोखिममा

इञ्जिनियरिङ अध्ययन नगरी हचुवाका भरमा बस्तीमाथि बनाइएको पोखरी विष्फोट हुँदा आएको बाढीले दोलखामा दुई ओटा बस्ती जोखिममा पारेको छ, बाढीबाट ५ घरमा क्षति पुगेको छ। भीमेश्वर नगरपालिका-६ स्थित खोर्थली सामुदायिक वनमा रहेको पोखरी फुटेर सोमबार राति आएको बाढीले सडक मार्ग करिब ५ घण्टा अवरुद्ध पार्नुका साथै स्थानीयका चौपाया र खेतबारी समेत बगाएको छ।

सदरमुकाम चरिकोट बजारभन्दा माथिल्लो भेगमा रहेको खोर्थली सामुदायिक वनमा भीमेश्वर नगरपालिकाले २ वर्षअघि रिचार्ज पोखरी बनाएको थियो। बस्तीमाथिको पोखरीमा सिंचित गरिएको पानीले बस्ती क्षेत्रका मुहान साथै खेतबारी सुक्खा नहुने भन्दै सुरुमा सामुदायिक वन उपभोक्ता समूहले यो पोखरीलाई संरक्षण गर्ने अभियान थालेको थियो।

डिभिजन वन कार्यालयमार्फत परम्परागत सानो पोखरीको संरक्षण थालेको समूहले पोखरीमा पूर्वाधार निर्माण गर्न भीमेश्वर नगरपालिकामा बजेट माग गरेको थियो। नगरले यो जंगललाई खुला चिडियाखानाका रुपमा विकास गर्ने र खुला चिडिया खानाभित्र वन्यजन्तुलाई पानी खानका लागि खुला चिडियाखाना अवधारणामा पोखरी संरक्षण गर्न अनिवार्य आवश्यकता हुने गरेको कारण देखाएर बजेट छुट्याएको थियो।

२ वर्षअघि नगरले पोखरीमा ज्ञाविन र घेराबार लगाउन साथै त्यहाँ जाने सडक निर्माण गर्नका लागि करिब ५० लाख रुपैयाँ खर्च गरेको थियो। स्थानीयका अनुसार जंगलभित्र निर्माण गरिएको पोखरीमा वर्षातमा पानी भरिन्थ्यो। केही दिनयता पोखरीभित्र वरिपरि चारै तिर पहिरो चल्न थालेको थियो। उक्त पहिरोबाट खसेको माटोले पानी छचल्किएर चारै तिर दबाव पर्दा निकास तर्फको भाग फुटेर गएको अनुमान स्थानीयले गरेका छन्।

मध्यरातमा फुटेर गएको पोखरीको पानीले बाढीको रुप लिँदा चरिकोट नजिकको मर्‍याङखोलाको तटिय क्षेत्रमा तहसनहस पारेको स्थानीय समेत रहेका जिल्लाका अगुवा शम्भु गौतमले सुनाए। पोखरी फुटेको स्थानमा कम्तीमा ८ देखी १० लेयरसम्म जाली हाल्नुपर्नेमा ३ लेयर मात्र हालिएको स्थानीयले बताएका छन्। वरपरको क्षेत्रमा प्राय माटोले भरिएको पोखरीमा भविष्यमा हुनसक्ने जोखिमबारे अध्ययन नगरी हचुवाका भरमा पूर्वाधार बनाउँदा दुर्घटना भएको गौतमले बताए।

यस्तै पोखरीको निकास स्थानबाट फुटेको ठाउँमा लगाइएको ज्ञाबिनमा माटो वा लेदो नबग्नका लागि लगाइने डियो टेस्टायल लगाउनुपर्नेमा लगाइएको नभेटिएको स्थानीयले बताएका छन्। ‘यो पोखरीमा यति धेरै इञ्जिनियरिङ लापरवाही छ कि जुन सामन्य सर्वसाधारणले पनि सजिलो गरी पहिल्याउन सक्छन्’ एक स्थानीयले भने। बस्तीमाथि पोखरी बनाउँदा नगरले गर्नुपर्ने सम्भाव्यता अध्ययन र माटो परीक्षणको काम गर्न नसकेको नगरपालिकाले स्विकारेको छ।

‘यो परम्परागत पोखरी भएका कारण स्थानिय वनका उपभोक्ताहरुले संरक्षण गर्दै आएका रहेछन्, यसलाई रिचार्ज पोखरीका रुपमा विकास गर्नका लागि नगरपालिकामा प्रस्ताव लिएर उपभोक्ताहरु आउनुभयो, नगरले यो स्थानलाई खुला चिडियाखानाका रुपमा विकास समेत गर्न खोजेको र सिंचाइसँग सम्बन्धित वैज्ञानिक प्रस्ताव आएपछि सकरात्मक लिएर नगरले बजेट विनियोजन गरी कामहरु अगाडि बढायो’ नगरपालिकाका इञ्जिनियर सुरेश राउतले भने, ‘तर त्यहाँ पोखरी उपभोक्ताले पहिल्यै बनाईसकेकाले हामीले निकास जाने स्थानमा मा ज्ञाबिन वाल लगाउने, बार बनाउने र जाने सडक मार्गमा सोलिङ लगाउने कुरामा मात्र लगानी गर्‍यौं।’

उनले जंगलको बीचमा रहेको पोखरीमा चल्न सक्ने पहिरो, त्यहाँको माटोको अवस्था, त्यसले पार्न सक्ने क्षति लगायतका विषयमा इञ्जिनियरिङ तवरबाट सम्भाव्यता अध्ययन गर्न नसक्नु नगरपालिकाको कमजोरी रहेको स्विकार गरे। ‘हामी ठूला खाले पूर्वाधारमा मात्र वातावरणीय प्रभाव मूल्यांकनमा रकम छुट्याउँछौं’ उनले भने, ‘यस्ता स–साना योजनामा पनि वातावरण क्षेत्रमा त्यसले पार्ने असरबारे अध्ययन गर्ने कार्यक्रम राख्नु पर्ने ज्ञान यो घटनाले दिएको छ।’ 

प्रकाशित: २३ श्रावण २०७९ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App