५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराेका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।  

मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। 'छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ', उनले भने, 'महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छाँ।'

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन्। सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन्।  

दुखखोलाको पुल बन्द  

म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवतजावत बन्द गरिएको छ। दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिलर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावियन पर्खाल बगाएको छ। पुलको मालिकातर्फको पिलरको जगभन्दा गहिरो भएर खोला बग्न थालेको छ।  

मालिकातर्फको पहुँचमार्ग साँघुरिएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलमा आवतजावत बन्द गरिएको बताए। पुलका बारेमा थप अध्ययन गर्न मन्त्रालयबाट विज्ञ टोली बोलाएको अधिकारीले बताए।  

पुलमा आवतजावत बन्द गरिँदा मालिका र धवलागिरि गाउँपालिका सिधा यातायात सम्पर्क विच्छेद भएको छ। पुल संरचनाका लागि मालिका गाउँपालिकाले डोजर परिचालन गरेर नदी कटान नियन्त्रणको काम थालेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।  

बेनी–दरवाङ मङगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो। पूर्वाधार विकास कार्यालयले २०७६ सालमा दुखुखोलामा  दुई करोड २५ लाख ६० हजारको लागतमा २२ मिटर लामो पुल निर्माण गरेको होे। पुल तल दुखुखोलाको बाढीले मङ्गला गाउँपालिका–२ सहश्रधाराको बस्तीतर्फ कटान गर्न थालेको छ । 

करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन्। बेनी दरवाङ सडकको फापरखेत घुमाउनेभिर र बाङ्गापहिरोको पहिरो पन्छाएर सो क्षेत्रमा यातायात सञ्चालन गरिएको छ। रासस

प्रकाशित: २० श्रावण २०७९ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App