coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भो कपन डुबानको कुरै नगर!

यो खोला होइन: बाढी पसेपछि कपनको सडक। हरेक वर्ष यो क्षेत्र डुबानमा पर्दै आए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन। तस्बिर: गुणराज लुइँटेल/नागरिक

गत बुधबार पानी परेपछि स्थलगत रिपोर्टिङका लागि डुबान क्षेत्रमा पुगेका कपनका पत्रकार पुण्यराज पुडासैनीलाई पीडित स्थानीयले भने, ‘भो कपन डुबानको कुरै नगर!’ लामो समयदेखिको निरन्तर डुबानले दिक्दारी बेहोर्दै आएका स्थानीय सर्वसाधारणले ‘लेखेर के हुन्छ ?’ भन्दै त्यस्तो जवाफ फर्काएको पुडासैनीले कपन अनलाइनमा लेखेका छन्। आइतबारको दर्के पानीले स्थानीयलाई फेरि अत्याएको छ। अत्यासको यो क्रम लामो समयदेखि चल्दै आएको हो।

स्थानीयले भनेजस्तै हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेका खबर छापिन्छन्। सामाजिक सञ्जालमा त्यहाँका फोटाहरू राखिन्छन्। समाधानका लागि विभिन्न कमेन्ट आउँछन्। तर कपनवासीका लागि डुबान नियति नै बन्न पुगेको छ। जति कराए पनि, लेखे पनि डुबानको समस्या कम भएको छैन। बरु झन् नयाँनयाँ गल्छेडा र गोरेटाबाट भेल आउने गरेको छ।

कपन क्षेत्रदेखि मिलनचोक, गोपीकृष्ण, भृकुटीचोक, तेन्जिङचोकलगायत क्षेत्र हरेक वर्ष डुब्ने गरे पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको स्थानीयको गुनासो छ। ‘पानी परेपछि बाटोमा रोकिएका गाडी र मोटरसाइकलसमेत बाढीले बगाउने अवस्था बनेको छ,’ भृकुटीचोकका विकास लामा भन्छन्, ‘तर यसको समाधानमा कोही अगाडि बढेको महसुस भएको छैन।’ बर्खासँगै आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरे पनि कसैले चासो नदिएको गुनासो उनी गर्छन्। ‘पानी परेपछि बाटो खोज्नुपर्ने अवस्था आउने गरेको छ,’ लामा भन्छन्, ‘ससाना नानीबाबु सडकमै डुब्लान् भन्ने डर भइसक्यो।’ अघिल्लो वर्षको असोजमा बुढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजारनजिकैको ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विकको मृत्यु भएको उनले सुनाए।

वर्षासँगै सडकमा जम्मा हुने पानीको उचित निकास नभएकाले र ढल व्यवस्थापनमा धेरै त्रुटि रहेकाले कपन क्षेत्र जलमग्न बन्ने गरेको छ। अव्यवस्थित ढल कपनवासीका लागि दुःखको कारण बन्ने गरेको छ। हरेक वर्ष यस क्षेत्रमा बाढी आउँट । तर नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझैं गरेको स्थानीयको आरोप छ। कपनवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग सडक मर्मत तथा स्तरोन्नतिका लागि पटकपटक माग नगरेका होइनन् तर ती माग एक कानले सुन्ने अर्को कानले उडाउने हुँदै आएको छ। समस्या समाधानमा जुट्नुपर्नेहरूले एकातिर ‘काम हुन्छ’ भन्न नछाड्ने अर्कातिर सिन्को नभाँच्ने प्रवृत्तिका कारण कपनवासी दिक्क बनेका छन्। ‘हामीले यहाँको समस्याबारे सरोकारवाला सबैलाई पटकपटक जानकारी गराइसकेका छांै,’ स्थानीय मनोज थापा भन्छन्, ‘उनीहरू हुन्छ, गर्छौं भन्छन् तर काम अगाडि बढाउँदैनन्।’  

अघिल्लो बुधबारको पानीले कपन आनी गुम्बादेखि साततलेसम्मको मुख्य सडक खोलामा परिणत भएको थापा बताउँछन्। ‘आइतबारको भेलले पनि उस्तै समस्या पारेको छ,’ उनीले भने। कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक बनेको उनले सुनाए।

तर विषयको गाम्भीर्य र पीडितहरूको भयावह अवस्थालाई बुझेर कपन क्षेत्रको ठुलो समस्यालाई सबैले एकताबद्ध भएर समाधान गर्नुको साटो आरोप–प्रत्यारोपको खेती भइरहेको पत्रकार पुडासैनीको भनाइ छ। ‘डुबानले दुःखी बनेका कपनवासीहरूले अहिले एउटै आवाजले भनिरहेका छन्– हाम्रो पीडामा राजनीति नगर्नुस्,’ उनी लेख्छन्, ‘२० वर्षदेखि डुबान समस्यामा यस क्षेत्रका क्षेत्रका जनताको एक मात्र आवाज भनेको अहिले यो समस्याबाट मुक्ति नै हो।’ 

प्रकाशित: १६ श्रावण २०७९ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App