coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा आठ मतदानस्थल थप्न सिफारिस गरिने

सम्बन्धित वडाले मतदाता छुट्याइ सर्वसम्मत रुपमा पालिकामा सिफारिस गर्ने र पालिकाले साउन १५ गते भित्रमा जिल्ला निर्वाचन कार्यालयमा प्रमाणितप्रति पठाउने हो भने ताप्लेजुङमा ८ वटा मतदान स्थल थप्न सिफारिस गरिने भएको छ।

चार वटा मतदानस्थलको त्रुटी सच्याउन भने निर्वाचन आयोगमा सिफारिस गर्ने सहमति बनेको छ। मतदानस्थल थपघट र त्रुटी सच्याउनेसहितको कार्यका विषयमा पालिका प्रमुखहरु समेत सामेल सर्वदलीय बैठक यो निष्कर्षमा पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।

मतदानस्थल टाढा भएकोले अपायक पर्ने, जनसंख्या र भूगोलका कारण मतदानस्थल थप गर्नुपर्ने, मतदानस्थल पुगेर फर्किन दुई दिनसम्म लाग्ने अवस्थाले ७ नयाँ मतदानस्थल थपका लागि निर्वाचन आयोगमा सिफारिस गर्न सम्बन्धित पालिका र वडाले पूरा सबै प्रकृया पूरा गरी १५ गते भित्र जिल्ला निर्वाचन कार्यालयमा आवश्यक कागजात पठाइसक्नुपर्ने हुन्छ।

‘सम्बन्धित वडाले मतदाता छुट्याइ सर्वसम्मत रुपमा पालिकामा सिफारिस गरेको र पालिकाले साउन १५ गते भित्र प्रमाणितप्रति निर्वाचन कार्यालयमा पठाएको अवस्थामा सिफारिस बारे थप निर्णय हुने छ’ प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने। प्रकृया पूरा नभएको र सर्वसम्मति कायम समेत नभएको अवस्थामा सिफारिस गर्न नसकिने अवस्था रहेको उनले बताए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक बिद्यालय रमिते र जलकन्या आधारभूत बिद्यालय मेहलेमा नयाँ मतदान स्थलको प्रस्ताव गरिएको छ। अहिले त्यहाँ क्रमशःदुर्गा मावि फूलबारी र सरस्वती मावि हाङपाङ मतदान स्थल रहेका छन्।

यस्तै फुङलिङ नगरपालिकामा शिव आधारभूत विद्यालयमा मतदान स्थल थप गर्न प्रस्ताव गरिएको छ। त्यहाँ अहिले जनता मावि हाङ्देवा मतदान स्थल कायम छ। मिक्वाखोला गाउँपालिकाको खोक्लिङस्थि ओझा गाउँ प्राविमा मतदान स्थल थप गर्न प्रस्ताव गरिएको छ।

त्यहाँ अहिले सगरमाथा आधारभूत विद्यालय मतदान स्थल रहेको छ। सोही गाउँपालिकाको जनरात्री प्रावि दलैंचा र सिम्बुक प्राविमा मतदानस्थल थप गर्न प्रस्ताव गरिएको छ। त्यहाँ अहिले क्रमशः साँवा मावि साँवा र राजेश्वरी आधारभूत विद्यालय मतदानस्थल रहेका छन्।

यस्तै मैवाखोला गाउँपालिकाको असाङलुङ आधारभूत विद्यालय साम्तोङमा नयाँ मतदान स्थल थपको प्रस्ताव गरिएको छ। अहिले त्यहाँ महेन्द्र मावि साङलुपा मतदानस्थल कायम रहेको छ। यस्तै सिदिङ्वा गाउँपालिकाको आङगेपा आधारभूत विद्यालय बुदुक्सिङमा नयाँ मतदानस्थल थपको प्रस्ताव गरिएको छ। त्यहाँ अहिले सिंहेश्वरी मावि आङ्खोप मतदान स्थल रहेको छ।

यदि नयाँ मतदानस्थल रहन प्रस्ताव गरिएका सम्बन्धित पालिकाका वडाहरुले वडास्तरीय सर्वदलिय संयन्त्रको सहभागितामा यसअघि कायम रहेको मतदानस्थलबाट नयाँ प्रस्ताव गरिएको मतदानस्थलमा रहने मतदाताको नामावली छुट्याई सर्वसम्मत रुपमा नयाँ मतदानस्थलका मतदाता प्रमाणित गरी सम्बन्धित पालिकामा पठाएपछि पालिकाले त्यो प्रमाणितप्रतिसहित मतदानस्थल थपका लागि मतदानस्थल थपघट सिफारिस समितिमा पठाउनुपर्ने हुन्छ। प्राप्त हुने विवरण एकिन गरी आवश्यक निर्णय लिन समितिको बैठक साउन १८ गतेलाइ तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै फक्ताङलुङ गाउँपालिकाका ४ वटा मतदान स्थलको नाममा भएको त्रुटी सच्याउन सिफारिस गरिने निर्णय भएको छ। कायम रहेका मतदानस्थलका नाममा आधारभूत विद्यालय हुनुपर्नेमा माध्यमिक र माध्यमिक विद्यालय हुनुपर्नेमा आधारभूत विद्यालय हुन गएकोले सम्बन्धित विद्यालयको नाम एकीन गरी त्रुटी सच्याउन सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। अहिले ताप्लेजुङमा ७३ मतदानस्थल र १ सय २२ मतदान केन्द्र रहेका छन्।

प्रकाशित: १० श्रावण २०७९ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App