कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा भएका ९९२ सडक दुर्घटनामा परेर ३९२ जनाले ज्यान गुमाएका छन्। यो तीन वर्षको अवधिमा सबैभन्दा ठूलो दुर्घटना २०७८ असोज २६ गते मुगुमा भयो।
मुगुमा भएको सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाए भने १३ जना घाइते भए। नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना भएको थियो।
२०७९ जेठ ११ गते दैलेखको आठबीस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयो। कालीकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको म.१.ख. ६६० नम्वरको बस क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको थियो। आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशभर ४०२ वटा सडक दुर्घटना भएका छन्। जसमा १९७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३६, आर्थिक वर्ष २०७७/७८ मा २९१ र आर्थिक वर्ष २०७८/०७९ मा ४०२ सडक दुर्घटना भएका छन्। सडक दुर्घटनाबाट ८७६ मानवीय र २१ पशुचौपाया क्षति भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
तीन वर्षमा कर्णालीमा भएका सडक दुर्घटनामा १२०० जना घाइते भएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा ९७ जना, २०७७/०७८ मा ९८ जना र २०७८/०७९ मा १९७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ट्रफिक प्रहरीका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा कोराना संक्रमणका कारण भएको लकडाउनले सवारी साधन कम चल्दा दुर्घटना घटेको हो।
तीन वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्। तथ्यांक अनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानिहरुको धेरै मृत्यु भएको छ। तीमध्ये २० देखि २५ वर्ष उमेर समुहका १७२ जनाले ज्यान गुमाएका छन्।
सडक दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ। तीव्र गतिका कारण तीन वर्षमा ५३९ वटा सडक दुर्घटना भएको कार्यालयले जनाएको छ। यस्तै यान्त्रिक कारणले १९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उलंघन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ।
साढे सात करोड राजश्व संकलन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार तीन वर्षमा सात करोड ५० लाख १६ हजार ३०० रुपैयाँ राजश्व संकलन भएको छ। कार्यालयले ट्राफिक नियम उलंघन लगायतका जरिवाना वापतको राजश्व रकम संकलन गरेको हो।
कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ७२ लाख ६४ हजार ३०० रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा दुई करोड ४४ लाख ८९ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड ३२ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको हो।
कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमि, स्रोत साधनको कम उपलब्धता, सडकको अवस्था, सवारी चालकको लापरबाही, प्रविधिकको प्रयोगमा अभाव लगायतका कारणले दुर्घटना न्यूनिकरणका लागि चुनौति देखिएको प्रहरीले जनाएको छ।
कर्णालीमा २१८ जना ट्राफिक प्रहरी छन्। जस अनुसार प्रति ट्राफिक प्रहरी ६३ वटा सवारी साधन रेखदेख गर्नुपर्ने अवस्था छ। मापदण्डविना बनाइएका सडकहरु, अत्यधिक साँघुरा घुम्ती(मोड)हरु, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमि, खाल्डाखुल्डी र पहिरोका कारण दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ।
प्रकाशित: ९ श्रावण २०७९ ०३:१४ सोमबार