मधेस आन्दोलनको उद्गम स्थल लहानका दुई उच्च माध्यमिक विद्यालयको प्रांगणमा बिहान देखिने दृश्य बाहिरबाट सामान्य व्यायाम जस्तो देखिए पनि भित्री उद्धेश्य अर्कै छ। लहानको ललकु उमावि रघुनाथपुर र पशुपति आदर्श उमावि मटिअर्वा लहानको प्रांगणमा बिहान करिब पचास जना युवाको मार्चपास हुन्छ। यी युवालाई सिके राउतका प्रशिक्षणप्राप्त कार्यकर्ताले प्रशिक्षण दिन्छन्।
प्रशिक्षणमा सहभागी कतिपय युवा यहीँका कलेज–स्कुलमा अध्ययनरत छन् भने कतिपय सीमावर्ती गाउँका बेरोजगार। जसलाई मधेस देशका लागि लड्न मानसिक र शारीरिक रुपमा तालिम दिइँदैछ। उनीहरुलाई मधेसमाथि राज्यले वषर्ौंदेखि कसरी शृंखलाबद्ध विभेद गर्दै आएको छ भनेर डकुमेन्ट्री (वृत्तचित्र) मार्फत मानसिक रुपमा राज्यप्रति घृणा फैलाएर शारीरिक रुपमा तयार पारिँदैछ। जारी मधेस आन्दोलनको माग सम्बोधन गर्नुसाटो राज्य कसरी मधेसी जनतामाथि दमन गर्दैछ, यो पनि वृत्तचित्र प्रशिक्षणमा सहभागी युवालाई देखाएर मनोवैज्ञानिक रुपमा राज्य विरोधी 'दस्ता' बनाउने अभियान राउतको छ।
सिके राउतको 'मधेस स्वराज समूह'का विष्णु चौधरी भन्छन्, 'युवालाई मानसिक र शारीरिक रुपमा प्रतिरक्षात्मक र प्रतिकारात्मक तालिम दिइँदैछ।' यो तालिममा सभाको सुरक्षा, नेताको सुरक्षा, स्कर्टिङ लगायत प्रशिक्षण दिइने चौधरीले बताए। 'हामीले मधेसका युवालाई 'स्वयंसेवक' प्रशिक्षण दिँदैछांै, सशस्त्र होइन,' उनको दाबी छ। सिरहाका विभिन्न स्थानमा गरी पाँच सय जना युवाले यो प्रशिक्षण लिइरहेको उनले बताए।
यो प्रशिक्षण मधेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही बारा, पर्सा, रौतहट लगायत पश्चिममा पनि भइरहेको चौधरीले जानकारी दिए।
प्रशिक्षणसँगै सीमावर्ती गाउँमा अर्को 'अलगाहवादी' (विखण्डनकारी) गतिविधि पनि चलाइएको छ। त्यो हो, मधेस देशका लागि 'जनमत संग्रह'। सिरहाको सन्हैठा गाविसमा एक साताअघि सिकेका कार्यकर्ताले यो अभ्यास सुरु गरेका हुन्। उनी यो क्रमलाई मधेसका अन्य जिल्लामा फैलाउँदै लैजाने योजनामा छन्। प्रशिक्षण अभियानमा सहभागी एक प्रशिक्षकले परिचय लुकाउँदै भने, 'मानसिक रुपमा तयार पारेर मात्र हामी शारीरिक प्रशिक्षणमा सहभागी गराउँछौं।'
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केही दिनअगाडि लहानमा पत्रकारसँग भनेका थिए, 'शान्तिपूर्ण मधेस आन्दोलनको माग सम्बोधनमा भइरहेको ढिलाइले मधेसका युवामा आक्रोश बढ्दैछ, जुन डरलाग्दो अवस्था हो।' युवामा राज्यविराधी भावना विकास भइरहेको र यो बढ्दो क्रममा रहेको आफूले पाएको उनको भनाइ छ।
मधेसका युवा हिंसात्मक आन्दोलनका पक्षमा आवाज उठाइरहे पनि आफूहरुले थामथुम पारेर उनीहरुलाई सम्हालिरहेको समेत उनले बताए। माग सम्बोधनमा ढिलाइ लम्बिँदै गए युवा वर्ग अर्को बाटो(हतियारधारी) मा लाग्ने उनको भनाइ छ।
मधेस मामिलाका विश्लेषक तुलानारायण साहको विश्लेषणमा मधेसमा जारी शान्तिपूर्ण आन्दोलन सम्बोधनको समय लम्बिँदै गए असन्तोषसँगै आक्रोश बढ्नेछ। 'त्यो आक्रोशले आन्दोलनको माग, बाटो र नेतृत्वसमेत परिवर्तन हुन सक्ने खतरा बढ्छ,' साहको विश्लेषण छ।
'राज्यले भोलिको खतरालाई सूक्ष्म मूल्यांकन र विश्लेषण गरेर जारी आन्दोलनलाई सफल अवतरण गराउनु देश र जनहितकारी हुन्छ,' उनको सुझाव छ।
प्रकाशित: १५ पुस २०७२ २३:५३ बुधबार





