२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

१३२ केभी लाइनको काम तीव्र

फाइल तस्बिर

कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण आयोजनाको काम तीव्र गतिमा भइरहेको छ। डेढ वर्षभित्र सुर्खेतमा पुग्ने गरी काम भइरहेको आयोजनाले जनाएको हो।

विद्युत् लाइन विस्तारमा निकुञ्ज क्षेत्रको जंगलबाट लैजान नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै अब डेढ वर्षभित्र सुर्खेतमा पुग्ने गरी टावरको फाउन्डेसन निर्माण र टावरको सामान ल्याउने काम तीव्र गतिमा भएको हो।  

डेढ वर्षभित्र सुर्खेतमा १ सय ३२ केभी लाइनको चार्ज हुने र त्यसपछि दैलेखमा दुई वर्षभित्र १ सय ३२ केभी पुग्ने आयोजनाले जनाएको छ। सुर्खेतको छिन्चुसम्म आउँदा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने जंगल क्षेत्रबाट लैजान मन्त्रिपरिषद् बैठकबाट स्वीकृति दिएसँगै काम तीव्रगतिमा भइरहेको आयोजनाको कार्यालयले जनाएको हो। निकुञ्ज र वन क्षेत्रबाहेक स्थानमा टावरका लागि ४० फाउन्डेसन निर्माण भइसकेको र ७ वटा फाउन्डेसन बन्ने तयारीमा रहेको छ। बाँकी निकुञ्ज र वन क्षेत्रमा बनाइनेछ। आयोजना कार्यालयअनुसार १ सय ६१ वटा टावर निर्माण हुनेछन्। टावरका लागि आवश्यक पार्टहरू भारतबाट १५ दिनभित्र निर्माण कम्पनी आरएस इन्फा प्रोजेट भारत ल्याउने तयारी गरेको छ।  

मन्त्रिपरिषद् बाट  जंगल क्षेत्रबाट लैजान स्वीकृत भएसँगै ऊर्जा मन्त्रालय हुँदै वन विभागमा फाइल आएको छ। वन विभागसँग सम्झौता भएपछि निकुञ्ज र वन क्षेत्रमा टावर राख्ने ठाउँको फाउन्डेसनको काम हुनेछ। वन विभागसँग सम्झौता भएपछि प्रसारण लाइनमा र टावर राख्ने क्षेत्रको वन छपान, कटान, मुछान र घाटगढी हुनेछ। जंगल क्षेत्रमा पर्ने निकुञ्ज र वन उपभोक्ता समूहलाई जग्गाबराबर चलनचल्तीको पैसा आयोजनाले तिर्नेछ।  

सवस्टेसन वीरेन्द्रनगरको सुब्बा कुनामा १८ महिनाभित्र निर्माण गर्ने गरी नेपाल हाइड्रो इलेक्टिक कम्पनीले सम्झौता गरेको छ। सवस्टेसनको फाइनल डिजाइन भएपछि निर्माण कार्य सुरु हुने आयोजनाले जनाएको छ। १३२/३३ केभी क्षमताको सवस्टेसन बनाइने छ। सुर्खेतमा १ सय ३२ केभी विद्युत् लाइनको सवस्टेसन सुब्बाकुनामा चार्ज भएपछि दैलेखको चुप्रामा बनाइने सवस्टेसनमा चार्जका लागि आवश्यक काम हुने कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण आयोजनाका प्रोजेट मेनेजर रवि चौधरीले बताए। जसका लागि दुई वर्ष लाग्ने उनले जानकारी गराए। ‘दैलेखका लागि पनि आवश्यक ठेक्का तयारी भइरहेको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘सुर्खेत स्टेसनमा चार्ज भएपछि दैलेखको काम तीव्रगतिमा हुनेछ। जसका लागि दुई वर्ष लाग्नेछ।’  

प्रकाशित: ७ श्रावण २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App