८ वैशाख २०८१ शनिबार
समाज

अन्तराष्ट्रिय जैविक मार्ग लागि धमाधम वृक्षारोपण

इलामको सन्दकपुर गाउँपालीकाको जौबारीमा वृक्षरोपणको काम गरिँदै।

सुस्मा प्रधान ३१औँ दिन वृक्षारोपणका लागि खाल्डो खनिरहेकी थिइन्। इलामको सन्दकपुर गाउँपालीकाको जौवारी भन्ने ठाउँमा एक महिना यता निरन्तर वृक्षरोपणमा सहभागी प्रधानले रोजगारीमात्र पाएकी छैनन्, आगामी १०/१२ वर्षमा यो ठाउँको प्रख्याती बढ्ने अपेक्षा उनले राखेकी छन्।

उनले विरुवा रोपेवापत दैनिक ५ सय ७० रुपैयाँ पाउँछिन्। उनीजस्तै वृक्षारोपणमा एकमहिना यता खटिनेको संख्या १५ जनाको रहेको छ। नजिकै भारतमा पर्ने सिंहलिला नेशनल पार्कसँग नेपालको जमुना, टोड्के, डोबाटेजस्ता क्षेत्रलाई जैविक मार्गको रुपमा जोड्नका लागि भन्दै यहाँ केही वर्ष यतादेखि वृक्षारोपणको काम गरिदै छ। यो जैविकमार्ग रेडपाण्डा सहितका वन्यजन्तूका लागि महत्पूर्ण रहेको संरक्षणकर्मी बताउँछन्।

चरिचरन हुने यहाँका उजाड डाँडालाई रेडपाण्डा नेटवर्कले किनेको छ। समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम अन्तगर्त यहाँको ६ सय रोपनी नीजि जग्गा किनेर जिल्ला वन कार्यालय इलामको नाममा पास गरेर वृक्षा रोपण तथा संरक्षणको काम अघि बढाइएको हो।

विभिन्न चरणमा गरी जग्गा खरिद गर्दा दुई करोड जति लगानी भइसकेको बताइएको छ। विरुवा रोप्न स्थानीयले रोजगारी पाएका छन् भने संरक्षणकर्मी एक महिनादेखि सोही क्षेत्रमा खटिएका छन्। छिमेकी देश भारतमा रहेको सिंहलिला नेशनल पार्कका कारण घना जंगल छ। तर नेपालतर्फ उजाड देखिन्छ।

चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भइरहेको छ। विगतका वर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ। वन्यजन्तु दुई देश आवतजावत गर्न सक्ने भएपनि बिचमा वन क्षेत्र थिएन। यसलाई ‘अन्तराष्ट्रिय स्तरको जैविक मार्ग’ रुपमा विकास गर्न खोजीएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासि लामाले जानकारी दिए।

इलामको सन्दकपुर गाउँपालीकाको जौबारीमा वृक्षारोपण गरिएको क्षेत्र।

करिब दुई सय वर्ष अगाडिदेखिनै यो क्षेत्र उजाड भएको अनुमान गरिन्छ। करिब दुई सय वर्ष अगाडी यो क्षेत्र पुगेका जोसेफ डाल्टन हुकरले यो क्षेत्रमा खर्क रहेको र जमिन उजाड भएको भनेर लेखेका छन्। डाँडालाई जंगलमा फर्काउनका लागि प्रयास भइरहेको छ। यहाँ भालुचिण्डे, टेगा, मालिङ्गो, गुराँस, चिमाल लगायतका विरुवा रोप्ने काम भएको जानकारी दिइएको छ।

लेकाली क्षेत्रमा मौसमको भर हुँदैन। कहिले कुहिरोमा त कहिले छ्याङ्ग उग्रिएको समयमा डाँडालाई हरियाली बनाउन ठूलो जनशक्ति खटिएको छ। वृक्षारोपण, प्लाष्टिक पोखरी र जग्गालाई धेराबारा लगाउने काम भइरहेको छ। ‘डाँडालाई जंगल बनाउनका लागि काम गरिरहेका छौँ। पक्कै पनि यो क्षेत्र महत्पूर्ण बन्छ भन्ने आश छ’ स्थानीय पेमा प्रधानले भनिन् ‘यो साल पोहोर उदो भन्दा धेरै विरुवा रोप्ने काम भयो। जंगल भएपछि पानीको सुविधा हुने आश छ।’

नजिकै टोड्के, जमुना, डोबाटे क्षेत्रमा रहेका जंगलहरु रेडपाण्डाका लागि महत्वपूर्ण छ। रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको नेपाल र भारतका क्षेत्रलाई जैविक मार्गले जोड्ने बताइएका छन्। यो क्षेत्रमा २०७२ सालदेखि विरुवा रोप्नेकाम सुरु गरीएको लामाले बताए।

उनका अनुसार जग्गा किन्नेकाम भने २०७६ सालदेखि सुरु भएको हो। यसअघि हिले सामुदायिक वनमा रोपिएको विरुवा सप्रिएर आएको देखिन्छ। किनिएको जग्गापनि सोही सामुदायिक वनमा मिसाउने तयारी भएको छ। यहाँ १० वटा प्लाष्टिक पोखरी पनि बनाइएको छ। २० हजार लिटरको प्लाष्टिक पोखरीमा पानी जम्मा गरेर विरुवालाई सिंचाइ गर्ने तयारी भएको छ।

‘विगतमा रोपिएको विरुवाले सामुदायिक वन क्षेत्रमा निक्कै राम्रो भएको छ। रेडपाण्डा लगायतका वन्यजन्तु संरक्षणमा टेवा पुग्ने आश छ’ सामुदायिक वनका अध्यक्ष सोनाम लामाले भने ‘दश वर्षमा जंगल बढ्ने आशा छ। यो क्षेत्र पर्यटकीय क्षेत्र हो। नजिकै सन्दकपुर, तुम्लीङ, आहाल, डाबाटे जस्ता पर्यटकीय क्षेत्र छन्। जौबारीमा वर्षेनी विदेशी पर्यटक आउँछन्। उनीहरुलाई जगलमा रेडपाण्डा देखाउने रहर छ।’

लामाका अनुसार नजिकै आलु विकास केन्द्रको ८ हजार ४ सय २५ रोपनी जग्गा रहेको छ। कृषि अनुसन्धान परिषदको नाममा रहेको उक्त जग्गाको केही सय रोपनीमा मात्र आलु रोप्ने काम हुने गरेको लामाले सुनाए। ‘खाली रहेको त्यो जग्गामा वृक्षारोपण गर्न पाए हुन्थ्यो’ उनले थपे।

पाँचथर, इलाम र ताप्लेजुङमा केही वर्ष यता समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालित रहेको छ। पिआइटि (पाँचथर–इलाम–ताप्लेजुङ) कोरिडर बनाएर समुदायमा सचेतना जगाउने, आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, अनुसन्धान गर्ने कामहरु भइरहेको छ। यही अन्तर्गत रहेर जग्गा किनेर वृक्षा रोपणको काम भइरहेको छ।

इलामका चार, पाँचथरका तीन र ताप्लेजुङका सात स्थानीय तहमा रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको पिआइटी कोरिडरका कार्यक्रम संयोजक वाङ्चु भुटियाले जानकारी दिए। संरक्षण कार्यक्रमा लागि यो वर्षका लागि पाँचथरमा ५८ लाख, इलाममा ९१ लाख र ताप्लेजुमा ४८ लाख बजेट रहेको जानकारी दिइएको छ। १ नम्बर प्रदेश सरकारले यो वर्षको बजेटमा तीन जिल्लामा रेण्डपण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रकाशित: ४ श्रावण २०७९ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App