८ वैशाख २०८१ शनिबार
समाज

बेलकाले पनि ३४ करार कर्मचारीको म्याद थपेन

बेलका मेयर तथा उपमेयर।

सदरमुकाम त्रियुगा नगरपालिकाले ५ दर्जन करार कर्मचारीको म्याद नथपेसँगै जिल्लाको अर्को नगरपालिका बेलकाले पनि झण्डै ३ दर्जन करारको म्याद नथप्ने निर्णय गरेको छ। यसअघिका नगरप्रमुखले विभिन्न मितिमा भर्ना गरेका ३४ क।रार कर्मचारीको अवधि नथप्ने निर्णय नगरपालिकाले गरेको हो।

करार सेवा अवधि थप नपाएका कर्मचारीहरुमा २ इन्जिनियर, ५ कृषि प्राविधिक, १ सब इन्जिनियर, १ पशु प्राविधिक, २ चालक, ३ सहचालक रहेका छन्। त्यस्तै ७ जना मनोमरामर्शदाता, ८ स्वास्थ्यकर्मी तथा सरसफाईकर्मी र २ जना कार्यालय सहयोगी रहेको नगरप्रमुख अशोक कार्कीले बताए। कार्कीले नगरपालिकाबाट र साझेदारीमा तलबभत्ता खानेगरी भर्ना गरिएका करार कर्मचारीको म्याद नथप्ने निर्णय भएको बताए।

नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरप्रमुखको सचिवालयले कर्मचारी व्यवस्थापन गर्न तथा खर्च कटौती गर्ने उद्देश्यले गत असार ९ गते ३ वडाध्यक्ष सम्मिलित एक छानविन समिति गठन गरेको थियो। ३ नं. वडाध्यक्ष टंक आचार्य संयोजकत्वमा गठित ३ सदस्यीय ‘कर्मचारी व्यवस्थापन छानविन समिति’मा ८ नं. वडाध्यक्ष जयकुमार राई र ४ नंं वडाध्यक्ष तीर्थ अधिकारी सदस्य थिए।

सो समितिले १५ दिन लगाएर बुझाएको प्रतिवेदन अनुसार अनावश्यक कर्मचारीको म्याद नथप्ने निर्णय गरे अनुसार कदम चालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए। निरौलाका अनुसार छानविन समितिको मापदण्ड अनुसार पुरै तलवभत्ता नगरले खुवाउने, साझेदारीमा पहिलो वर्ष ३३ प्रतिशत, दोस्रो वर्ष ५० र तेस्रो वर्षदेखि शतप्रतिशत तलब खुवाउनुपर्ने कर्मचारीको म्याद नथप्ने निर्णय भएको छ।

निरौलाले बेलका नगरपालिकामा १ सय ६६ करार कर्मचारीमध्ये ३४ को म्याद नथप्ने निर्णय गरेको र बाँकीलाई निरन्तरता दिइएको बताए। अब ४७ जना स्थायी र १ सय २९ जना करार कर्मचारी कार्यरत रहेको पनि किरौलाले बताएका छन्। नगरले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरेको पाइएपछि नवनिर्वाचित मेयरले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको उनले बताए।

नगपालिकाका शाखा अधिकृत चेतनाथ गौतमले करारमा कार्यरत ३४ कर्मचारीको अवधि नथपेसँगै नगरपालिकालाई मासिक ६ लाखभन्दा बढी व्ययभार घट्ने बताए। उनका अनुसार बेलकाको आन्तरिक आमदानी वार्षिक ४ करोड मात्र हुने गरेको हुनाले बढी संख्याका करार कर्मचारी राख्दा व्ययभार बढ्ने हुनाले यो कदम जनप्रतिधिले चालेको हुनसक्छ।

छानविन संयोजक आचार्यले नगरपालिकालाई चुस्त र दुरुस्त चलाउन तथा अनावश्यक व्ययभार घटाउन स्पष्ट मापदण्ड बनाएर प्रतिवेदन बनाइ बुझाएको बताए। कर्मचारी कटौती गर्दा उनीहरुको कार्यसंपादन मूल्यांकन, शाखा प्रमुखसँगको परामर्श, काम गर्ने शैली र सेवाको मूल्यांकन अनि आर्थिक व्ययभारलगायत सूचकहरुको अध्ययन गरी त्यसको आधारमा प्रतिबेदन बनाइएको आचार्यले बताए।

व्यापक अध्ययन र छलफल गरी ३४ जना कर्मचारीको म्याद नथप्ने निष्कर्षमा पुगेको भन्दै उनले आवश्यक परे आगामी ३ महिनापछि थप करार कर्मचारीको म्याद नथप्न सकिने पनि आचार्यले बताए। करार कर्मचारीले जागीरको सुरुवातमै निश्चित अवधिका लागि सम्झौता गर्ने हुनाले कुनै पनि बेला करार कर्मचारीले बिदा लिनसक्ने भन्दै उनले म्याद नथप्नु स्वभाविक भएको बताए।

प्रकाशित: २ श्रावण २०७९ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App