७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वर्षाका कारण घर र विद्यालय पहिरोको जोखिममा

वर्षाका कारण बैतडीमा दुई घर र विद्यालय भवन पहिरोको जोखिममा परेका छन्।  जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन्।  

पहिरोले घरको आँगनमा क्षति पुर्‍याएको र  पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्नसक्ने भएको छ।  जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर पीडित परिवारलाई सहयोग गर्ने बचन दिएका छन्।  

अनुगमनका क्रममा जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट पर्खाल निर्माण गर्ने र क्षतिको विवरण संकलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।  

यस्तै दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालय पनिपहिरोको उच्च जोखिममा परेको छ। लगातारको वर्षाका कारण विद्यालयको आँगन जोगाउन लगाइएको पर्खाल भत्किएको छ। करिब ३० मिटर लामो पर्खाल भत्केर भीर बनेको विद्यालयका शिक्षक अम्बादत्त बडुले बताए। आँगन जोगाउन लगाइएको पर्खाल भत्किएपछि विद्यालय भवनसमेत जोखिममा परेको छ।  

 वर्षासँगैको  हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका २ स्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छानो उडाएको छ। हावाहुरीले उक्त विद्यालयका ४ कोठाको जस्तापाता उडाएको शिक्षक जनबिक्रम धानुकले जानकारी दिए। छाना उडाउँदा चार लाख ५० हजार बराबरको धनमाल क्षति भएको विद्यालयले जनाएको छ। रासस

प्रकाशित: १ श्रावण २०७९ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App