३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक भत्ता प्रदान गर्ने

भत्ता वितरणका लागि वडागत कार्यतालिका तयार

पालिका अध्यक्ष बिजयप्रकाश वनेमले पदभार ग्रहणपछि गरेको पहिलो निर्णय अनुरुप ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अब वडा–वडादेखि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ। 

नयाँ आर्थिक वर्ष २०७९/२०८० को साउन २ गते देखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता बितरणको प्रवन्ध गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत (शिक्षा अधिकृत)लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालू आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत बितरण गरिने छ। त्यसका लागि कार्यतालिका समेत बनेको गोम्देनले जानकारी दिइन्। 

उनका अनुसार वडा नं ६ फाकुम्बामा साउन २ र ३ गते तथा वडा नं ५ फाकुम्बामा साउन ४ र ५ गते तथा वडा नं १ ढुङ्गेसाँघुमा साउन ८ र ९ तथा वडा नं २ ढुङ्गेसाँघुमा १० र ११ गते बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म सासुभत्ता बितरण गरिने छ। यस्तै वडा नं ४ साँघुमा साउन १२ र १३ तथा वडा नं ३ साँघुपाटीमा १५ र १६ गते सासुभत्ता बितरण गरिने गाउँपालिकाले जनाएको छ। तत्कालिन ढुङ्गेसाँघु गाविसलाइ वडा नं १ र २,तत्कालिन साँघु गाविसलाइ वडा नं ३ र ४ तथा तत्कालिन फाकुम्बा गाविसलाइ वडा नं ५ र ६ हुने गरी मैवाखोला गाउँपालिकाका वडा बिभाजन गरिएको थियो। सासुभत्ता सम्वन्धित वडा कार्यालयमार्फत बितरण हुने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। 

मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटीमा सनराइज बैंकको शाखा रहेको छ। यो बाहेक त्यहाँ अरु कुनै बैंक छैनन्। पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सासुभत्ता बितरण हुँदा सेवाग्राहीलाइ आउन–जान झन्झट हुने र सासुभत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्च समेत हुने भन्दै गाउँपालिका अध्यक्ष वनेमले बिजयी पश्चात पदभार ग्रहणको क्रममा सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयमार्फत बितरण हुने व्यवस्था मिलाउने पहिलो निर्णय र घोषणा गरेका थिए। 

बैंकका कर्मचारी स्वयं उपस्थित भएर भत्ता वितरण हुनेगरीको प्रबन्धका लागि सनराइज बैंकका मैवाखोला शाखा प्रवन्धक देवी संग्रौला सहित स्थानीय प्रहरी चौकीका प्रमुख र पालिकाका कर्मचारीबीचको बैठकले कार्यतालिका तयार पारेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २८ असार २०७९ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App