७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मध्य रौतहटको गरुडा बजारमा बढ्दैछ खानेपानी समस्या

फाइल तस्बिर

मध्य रौतहटको गरुडा नगरपालिकाको केन्द्र गरुडा बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत महिनादेखि खानेपानीको समस्या बढ्दै गएको देखिएको छ।  

पहिलेदेखि कहिलेकाहीँ खानेपानीको समस्या हुने गरेकोमा स्थानीय सरकारमा नयाँ नेतृत्व आएपछि गरुडा बजारमा खानेपानीको समस्या निकै चर्किएको छ। धारामा निकै कम पानी आउँदा उपभोक्ता भने निकै समस्यामा परेका छन्। खानेपानीको समस्याको विषयमा नगर प्रमुख तथा खानेपानीको अध्यक्षलाई जानकारी गराएपनि सुधार हुन नसकेको गुनासो उपभोक्ताको रहेको छ।  

धारामा पानी आउँछ तर ट्यांकीमा पानी नचढ्दा आफूले निकै दुःख पाएको गरुडा उद्योग वाणिज्य संघका सदस्य सन्तोषकुमार जयसवालको गुनासो छ। अलिकति पानी आएर केही हुँदैन, पहिले जस्तो पानी नआएर बजारका सयौँ उपभोक्ताहरु पीडित बनेका छन्। उपभोक्ताको समस्यालाई गरुडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नबुझेको गुनासो जयसवालको छ।  

सबै उपभोक्ताले कराएपछि दुईचार दिन पानी आएपनि फेरि पानी आउन छोड्छ। नगर प्रमुखलाई खानेपानीको समस्या बताएर हैरान भएको र केही पनि सुधार हुन नसकेको गुनासो बजारबासीको रहेको छ।  

गत वैशाख ३० मा निर्वाचन भएपछि दोस्रो तल्लामा पानी नचढ्ने समस्या बढेको हो। पहिले महिना दुई महिनामा एकचोटि यस्तो समस्या आउने गरेकामा निर्वाचन पछि खानेपानीमा नियमित समस्या आइरहेको देखिएको छ।  

खानेपानीको पानी तान्ने मोटरमा विद्युतको समस्या भएकोले पाइपमा प्रेसर पुग्न नसकेको गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पंकजकुमार जयसवालको भनाइ छ। खानेपानीमा विद्युतको समस्या भएकोले विद्युत आपूर्तिमा अवरोध हुँदा उपभोक्तालाई केही समस्या कहिलेकाहीँ हुने गरेको तर समाधानको लागि आफूले निरन्तर प्रयास गरिरहेको अध्यक्ष जयसवालको दाबी छ।  

बिना सूचना निरन्तर बिजुली अवरोध हुने, अनियमित हुने तथा अघोषित लोडसेडिङ हुने भएकोले खानेपानी तथा कृषिको क्षेत्रमा पनि नकारात्मक प्रभाव परिरहेको देखिएको छ।  

केहीदिनदेखि अति चर्को घामले बढेको गर्मीका कारण जनजीवन कष्ठकर बनेको समयमा खानेपानीको अभाव हुँदा सर्वसाधारण झन् मर्कामा परेका छन्। 

प्रकाशित: २६ असार २०७९ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App