असार २३ गते जिल्ला प्रशासन बाँकेको टोलीले भेरी अस्पतालका कर्मचारीको हाजिरी रजिस्टर चेकजाँच गर्दा अस्पतालका जनरल फिजिसियन डा. निर्मल शाक्यको हाजिरीमा सबैभन्दा बढी कैफियत भेटियो। एक हिसाबले डा. शाक्यले गरेको फर्जी हाजिरीलाई ढाकछोप गर्न अस्पताल प्रशासन र विकास समितिले अनेक हतकण्डा अपनाएको पाइयो।
डा. शाक्यको हाजिरीमा असार २३ गते नै असार २९ गतेसम्मको हाजिरी गरेको फेला पर्यो। उक्त हाजिरीलाई छोप्न माथिबाट टेप टाँसिएको छ। हाजिरी गरिएको ठाउँमा पहिले कसैले कैफियत लेखेको छ। तर, त्यसलाई टिपेक्स लगाएर ढाकिएको छ। टेपले ढाक्न नसकेको २८ र २९ गतेको हाजिरीमाथि फेरि कसैले घरबिदा भनेर लेखेको छ। यति मात्रैले चित्त नबुझेर फेरि कैफियत महलमा भुलवश हाजिर हुन गएको भनेर उल्लेख गरिएको छ।
यसरी फर्जी हाजिरी ढाकछोप गर्न अपनाइएका अनेक हतकण्डालाई नजरअन्दाज गरेर अस्पताल विकास समितिले डा. शाक्यलाई जोगाउने प्रयन्त गरेको देखिएको छ। अस्पतालमै कार्यरत डा. सुरेशकुमार नागले सेवामा लापरबाही गरेको भन्दै मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरेको अस्पताल विकास समितिले डा. शाक्यले गरेको यस्तो गल्तीलाई भने ढाकछोप गरिरहेको प्रशासनले सबै हाजिरी जफत गरेपछि खुल्न आएको हो। डा. नागलाई कारबाही गर्न विकास समितिले असार २१ गते मन्त्रालयमा लेखिपठाएको थियो। डा. नागले पनि असार २९ गतेसम्मको हाजिरी गरेका छन्। उस्तै प्रकृतिको लापरबाही गर्ने र हाजिरीमा अझ बढी छेडखानी भएको फेला परेका डा. नागका सन्दर्भमा अस्पताल विकास समिति मौन रहनुले समितिले पक्षपात गरेको महसुस भएको अस्पतालका एक कर्मचारीले बताए।
अग्रिम हाजिरी गरेको फेला पर्ने अस्पतालका कर्मचारी डा. शाक्य र नागमात्रै होइनन्। अस्पतालका चारजना नर्स र एकजना कार्यालय सहयोगीले पनि पहिले नै हाजिरी गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए। उनका अनुसार नर्सहरू मारिया अन्सारी, निलम श्रेष्ठ, तब्बु कौर सोढी र दिव्येश्वरी न्यौपाने पनि अग्रिम हाजिरी गरेका थिए। सोढीले साउन महिनाको १८, १९ र २० गतेको र न्यौपानेले साउन १ देखि ५ गतेसम्मको हाजिरी गरेका छन्। अन्सारीले २३ गते नै २४ गतेको हाजिरी गरेको र श्रेष्ठले २४ गतेदेखि २८ गतेसम्मको अग्रिम हाजिरी गरेको फेला परेको छ। कार्यालय सहयोगी मीना बाल्मिकीले पनि २९ गतेसम्मको हाजिरी गरेकी छन्।
यसरी अग्रिम हाजिरी गर्ने ६ जनालाई अस्पताल विकास समितिले उन्मुक्ति दिएको पाइएको छ। डा. नागलाई मात्रै कारबाहीका लागि सिफारिस गरिएको छ। अस्पतालमा कार्यरत एक कर्मचारी संगठनका नेताले उस्तै प्रकृतिको लापरबाही गर्ने एकजनालाई कारबाही हुने र अरूलाई उन्मुक्ति दिनुले राजनीतिक आस्थाको पूर्वाग्रहको आशंका उत्पन्न हुने बताए। अस्पताल विकास समितिमा राजनीतिक दलका प्रतिनिधि नै छन्। उनीहरूले केही कर्मचारीलाई कारबाहीबाट जोगाउने र केही कर्मचारीलाई कारबाहीको भागिदार बनाउन लाग्नु गलत भएको उनको भनाइ छ।
अस्पताल विकास समितिका सदस्य धनिराम वली त्यसरी पक्षपात नभएको दाबी गर्छन्। अग्रिम हाजिरी गर्ने कर्मचारीलाई कारबाही सिफरिस गर्ने प्रक्रियामै रहेको उनको दाबी छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आफूहरूले हाजिरी जफत गरेर देखिएका तथ्यका आधारमा कारबाही गर्न सिफारिस गर्ने बताए। यदि अस्पताल प्रशासनले कारबाही नगरे मन्त्रालयमा लेखिपठाउने उनको भनाइ छ। ‘हामी पक्षपात गर्दैनौँ। नियमअनुसार कारबाहीका लागि लेखिपठाउँछौँ,’ खत्रीले भने।
प्रकाशित: २६ असार २०७९ ०३:५७ आइतबार