१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१७ वर्षदेखि बेपत्ता छोराको बाटो हेर्दै ठगीमाया

१७ वर्षदेखि बेपत्ता कान्छा छोराको बाटो हेर्दै पाँचथर यासोककी वृद्धा ठगीमाया खुलाल/उनका बेपत्ता कान्छा छोरा मानबहादुर।

पाँचथर यासोककी ७१ वर्षीया ठगीमाया खुलालले कान्छा छोराको बाटो हेरेको झण्डै दुई दशक भयो। पैसा कमाएर ल्याइ आमालाई खुसी राख्ने सपना देखाएर विदेश हान्निएको कान्छो छोरो सम्पर्क विहीन भएपछि ठगीमायाका आँखा ओभाएका छैनन्।

‘यतिका समय बितेपनि काखको (कान्छो) छोराको खबर आएन,’ उनले गहभरि आँसु पारेर भनिन्, ‘अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने लागेर आँखा जतिबेलै आँगनतिरै गइरहन्छन्।’ घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउन विदेश गएको छोराको अत्तोपत्तो नहुँदा ठगीमायाको छात्ती चिरिएको छ। छोरो हराएपछि घरमा पतिको समेत निधन भएकाले थामिनसक्नुको पीडा छ उनलाई।

‘म दिनैपिच्छे भगवान्लाई पुकारिरहेकी छु, छोरो जहाँ भएपनि एकदिन घर आइपुग्छ, पक्कै भगवान्ले मेरो इच्छा पूरा गर्नेछन्,’ उनले सुनाइन्, ‘अब मेरो आशा नै काछो छोरो घर आइपुग्छ कि भन्नेमात्रै छ।’ बाल्यकालमै रहेको छोरो यसरी बेपत्ता होला भनेर उनले कल्पनासमेत गरेकी थिइनन्। तर, गाउँमा कमाइ भएन भनेर विदेश गएको छोरो फर्केर आएन।

‘बुढेसकालमा त्यही छोराको चिन्ताले धेरै पिरोलेको छ,’ उनले भनिन्, ‘अब त बेपत्ता छोराको अनुहार एक पटकमात्र हेर्न पाए पनि अलि धेरै समय बाँच्नेथिएँ भन्ने लाग्छ।’ उनका कान्छा छोरा मानबहादुर खुलाल २०६२ सालमा कतार जान घरबाट हिँड्दा १८ वर्षका थिए। घरबाट हिँडेपछि १ वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए। त्यसयता भने उनले न घरमा सम्पर्क गरे, न परिवारले खोजी गर्दा उनलाई भेट्नै सकेका छन्।

इलाममै रहेकी मानबहादुर दिदी मीनाले आफ्नो भाइ नेपालै फर्किएको खबरसम्म आएपनि सम्पर्क हुन नसकेको बताइन्। ‘बेपत्ता भएको केही समयपछि भाइ (मानबहादुर) नेपालै फर्किएका छन् भन्ने खबर त आयो तर हामीले पत्ता लगाउन सकेनौं,’ उनले भनिन्, ‘भाइ बेपत्ता भएयता वृद्धा आमाको आँसु अडिएको छैन, भाइ हराएपछि बुबा (मित्रबहादुर) को पनि निधन भयो।’ मानबहादुरलाई घर फर्किन परिवारजनले मिडियामार्फत् नै आग्रह पनि गरे। ‘मेरो पीडा थाहा पायो भने पक्कै छोरो फर्केर घर आउँछ,’ वृद्धा ठगीमायाले आग्रह गरिन्, ‘मेरो खबर छोरासम्म पुर्‍याइदिनु होला।’

प्रकाशित: २५ असार २०७९ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App