३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तिलोत्तमामा अव्यवस्थित, भूमिहीन तथा सकुम्बासी जग्गाको नापजाँच सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिहीन सुकुम्बासीहरुको जग्गा नापजाँचको काम सुरु भएको छ। भूमि आयोगले शुक्रबारदेखि तिलोत्तमाको वाडा नं. १३  बाट जग्गा नापजाँचको काम थालेको हो।

जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो। वडा नं. १३ को करौजीयाबाट जग्गाको नापजाँच सुरु गरी केही महिनाभित्रै नापजाँच लगाएका सबै प्रकृया पूरा गरेर नगरबासीलाइ पुर्जा वितरण गरीने आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले बताए।

भूमिहीन तथा सुकुम्बासी समस्या सदाका लागि अन्त्य गर्ने सरकारको लक्ष्य रहेकाले सो लक्ष्य प्राप्तिका लागि अयोगले परिणाम देखिने गरी काम गर्नु पर्नेमा उनले जोड दिए। ऐन कानुनको परिधिभित्र रहेर परिणाम देखिने गरी काम गर्न केन्द्रीय अध्यक्ष निरौलाले  मातहतका पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन दिए।

अव्यवस्थित बसोबासी, भूमिहीन  सुकुम्बासीलाई जग्गाको स्वमित्व प्रदान गर्ने काममा  सहयोग समन्वय गरीदिन नगरपालिका र नगरबासीलाई आग्रह पनि गरे। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अव्यवस्थित वसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या सदाका लागि समाधान गरी नगरबासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए।

आयोगको कामलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मेयर खाँणले  जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको व्यवस्थापन नगरपालिकाले गर्ने बताए। जग्गा नापजाँचकालागि आवश्यक पर्ने नापी सवेक्षक तथा तीनका लािग आवश्यक पर्ने उपकरण तथा सामाग्री व्यवस्थापनको आवश्यक तयारी अगाडि बढीसकेको उनले जानकारी दिए।

मेयर खाँणले सुकुम्बासी समस्या समाधानसँगै सार्वजनिक जग्गाको संरक्षणमा पनि नगरपालिकाले ठोस योजनासहित काम सुरु गर्ने बताए। जग्गा नापजाँचका लागि वडामा खटिने सम्बन्धित कर्मचारीहरुलाई समन्वय र सहयोग गर्न उनले वडाका जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह पनि गरे।

भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आर्चाय क्षेत्रीले रुपन्देहीका १० वटा पालिकामा आयोगले जग्गा नापजाँचको काम सुरु गरेको जानकारी दिए। आयोगले काम सुरु गरेका पालिकाहरु मध्ये देबदहबाट साउनको पहिलो सातादेखि पुर्जा वितरण कार्य सुरु हुने उनले बताए। जनप्रतिनिधि र स्थानीयको साथ सहयोग भए आयोगले केही महिना भित्रै जिल्लाका सबैजसो पालिकामा काम सुरु गर्ने र पुर्जा वितरण गरीने बताए।

भूमि आयोग रुपन्देहीका सदस्य सचिव तथा रुपन्देहीका नापी अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय तहहरुले गरेको तथ्याङ्क संकलनको अध्ययन गरेर नापनक्सा गरी पुर्जा वितरण गरिने बताए। तत्कालीन जिल्ला विकास समिति रुपन्देहीका सभापति रामचन्द्र ढकाल, तिलोत्तमा १३ का वडा सभापति नारायण ढकाललगायतले बोल्दै नगरबासीलाई सम्पत्तिको स्वामित्व दिलाउनु जनप्रतिनिधिको प्रमुख दात्यिव जिम्मेवारी भएकाले आयोगको काममा सहयोग समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए।

प्रकाशित: २५ असार २०७९ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App