१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

विकासले क्यान्सरपीडित डिलादेवीको उठिबास

२०६० सालमा श्रीमान् बितेपछि भरतपुर १० की डिलादेवी रिजाल एक्लै थिइन्। एक्लो महसुस कहिल्यै गर्नुपरेन। बस्ने बास थियो। वर्षौंदेखिका छिमेकी थिए, तर यतिखेर राज्यले नै उनलाई एक्लो बनाइदिएको छ। हिजोआज उनका न छिमेकी छन् न त बस्ने बास नै।

२०२५ सालदेखि भरतपुर १० स्थित ट्राफिक चोकमा उनको घर थियो, तर दुई हप्ताअघि पुल्चोक–गोन्द्राङ सडक खण्ड विस्तारका क्रममा भत्काइदिएपछि उनी घरवारविहीन भएकी हुन्। तीन धुरमा उनको एकतले पुरानो घर थियो। पूरै जमिन विस्तारका क्रममा परेपछि सुकुम्बासी बनेकी छन्।

घरअगाडि ६ लेनको सडक बन्दै छ। यसलाई भरतपुर महानगरले गौरवको आयोजना भनेको छ, तर ६ लेन सडक विस्तारका क्रममा विस्थापित हुँदै गर्दा गौरवको आयोजनाले उनलाई सडकमै पुर्‍याएको छ। १९ वर्षअघि ६५ वर्षीया डिलादेवीका श्रीमान् बिते। छोराछोरी भएनन्। एकल महिला रहेकी उनी स्तन क्यान्सरको बिरामी हुन्। ८ वर्षदेखि औषधिका भरमा छिन्। बाँच्नका लागि निरन्तर संघर्षरत उनी आफ्नो जीवनका लागि राज्यसँग जुध्नुपरेको छ।

उनीसँग ३ धुर जग्गाको लालपुर्जा छ। महानगरलाई तिरेको करको रसिद छ, तर मुआब्जा नदिई राज्यले आफूलाई बिचल्ली बनाएको उनी बताउँछिन्। ‘हामी यहाँ आउँदा पिच सडक नै थिएन। गोरेटो मात्र थियो। एक्लै हिँड्न डर लाग्थ्यो,’ राज्यप्रति गुनासो गर्दै भनिन्, ‘त्यस्तो बेलामा हामी लालपुर्जासहित बसेका थियौं। अहिले राज्यले अलपत्र पारेको छ।’

स्याङ्जामा जन्मिएकी उनी त्यो घरमा ४२ वर्ष बिताइसकेकी छन्। उनी बसेको जमिन उनका श्रीमान्ले बर्माबाट फर्केर आएपछि २०२१ सालमा खरिद गरेका थिए। उनी बसेको घर २०२५ सालमा निर्माण भएको उनी बताउँछिन्, तर उनी २०३६ सालदेखि सोही घरमा बस्दै आएकी थिइन्। अहिले उनले त्यो घरमा बस्न पाइनन्। बिचल्लीमा परेकी उनलाई केही समयका लागि भरतपुर ७ गौतमचोकका केही छिमेकीले साथ दिएका छन्। ‘मसँग पैसा छैन। मेरो अवस्था देखेर केही छिमेकीले भाडामा मान्छे आउने बेलासम्म बस्न दिनुभएको छ,’ पोका पारिएका घरका सामान देखाउँदै उनले भनिन्, ‘बस्ने ठेगान नभएसम्म पकाएर खाएकी पनि छैन।’ उनले तीनजनाका घरमा थोरथोरै लत्ताकपडा राखेकी छन्, तर घर भत्किए पनि लालपुर्जा भने साथमा नै राख्ने गर्दछिन्।

पटक–पटक घर खाली गर्न भन्दै सडक डिभिजन कार्यालय चितवनले ताकेता गरिरहेको थियो। घर छाडेर जाने उनीसँग विकल्प थिएन। उनले स्थानीय तहमा गएर आफ्ना बिलौना बिसाइन्, तर सुनुवाइ भएन।

‘पटकपटक स्थानीय सरकारसँग हारगुहार गरें, सुनवाइ भएन। महिलाका पीडा बुझ्छिन् कि भनेर मेयर साब (रेनु दाहाल) लाई भेट्न गएँ, हुन्छ भन्नुभयो। वडाध्यक्षलाई भेटें उहाँले पनि आश्वासन दिनुभयो, तर कसैले हेरेनन्,’ उनले भनिन्।

भरतपुरको मुटुमा रहेको जग्गा गुमाएकी डिलादेवीले ठूला माग पनि राखेकी छैनन्। गाँस, बास र औषधोपचारको व्यवस्था गर्न माग गरेकी छन्। ‘मासिक ४० हजारको हाराहारीमा खर्च हुन्छ,’ उनले भनिन्, ‘सरकारले घर बनाइदिन नसके कोठा भाडा दिए पनि हुन्छ।’

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल महानगरपालिकाले तोकेको स्थानमा बस्न उहाँ तयार नभएको बताइन्। ‘सडक हाम्रो कार्य क्षेत्र होइन, तैपनि उहाँको अवस्था हेरेर सार्वजनिक स्थानमा घर बनाइदिन्छौं भनेका थियौं, उहाँ सहमत हुनुभएन्,’ मेयर दाहालले भनिन्, ‘हामीलाई ६ देखि ७ लाख रूपैयाँ खर्च गर्ने अधिकार थियो। उहाँको एक करोडकै माग छ, त्यो सम्भव भएन।’ संघ र प्रदेश सरकारले सहयोग गरेमा उनका लागि घर बनाउन महानगर तयार रहेको दाहालले बताइन्।

प्रकाशित: १९ असार २०७९ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App