१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

‘शक्ति केन्द्रको चलखेलबाट राष्ट्र जोगाउन गठबन्धन’

गृहमन्त्री बालकृष्ण खाँणले देशभित्र प्रत्यक्ष अपत्यक्ष रूपमा रहेका ठूला शक्ति केन्द्रहरूको चलखेलबाट राष्ट्र जोगाउन नेपाली कांग्रेसले विचार नमिल्ने पार्टीहरूसँग गठबन्धन गरेको र आम निर्वाचनमा यसलाई अझ बलियो बनाउने बताएका छन्।

नेपाली कांग्रेस रूपन्देहीले शनिबार भैरहवामा गरेको स्थानीय तहका जनप्रतिनिधिहरूको सम्मान कार्यक्रममा सम्बोधन गर्दै खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्दै राष्ट्रियताको सम्बर्द्धनका लागि कांग्रेसको भूमिकालाई बलियो र फराकिलो बनाउनुपर्ने बताए। अधिनायकवादी विचार र पद्धतिबाट निर्देशित राजनीतिक शक्ति हावी हुन नदिन कांग्रेसले विचार र सिद्धान्त नमिल्ने राजनीतिक शक्तिहरूसग हातेमालो गरेको बताए। स्थानीयत तहको निर्वाचनमा दिएको साथकालागि गठबन्धनका अन्य दललाई धन्यवाद दिँदै उनले मुलुकको हित लोकतन्त्र र संविधानको रक्षा गर्दै राष्ट्रियताको सम्बर्द्धनकालागि फेरी पनि गठबन्धनका दलहरू एक भएर निर्वाचनमा होमिने बताए। फरक धुव्रका राजनीतिक दलहरूसंगको सहकार्य र सहयात्राले कांग्रेसलाई नभइ राष्ट्र र राष्ट्रियतालाई बलियो बनाएको उनले बताए।

‘नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा भइरहेको शक्ति केन्द्रहरूको चलखेलले लोकतन्त्रिक मूल्य, मान्यता र राष्ट्रियतालाई खलबल पार्ने, संविधान र नेपाली जनताका हक अधिकारलाई संकुचन गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने खतरा छ,’ गृहमन्त्री खाँणले भने। ‘राष्ट्रलाई त्यो चलखेलबाट जोगाउँदै लोकतान्त्रिक मूल्य, मान्यतालाई शंकुचन हुन नदिन विचार नमिले पनि अन्य दलसँग गठबन्धन गरेर राष्ट्रियताको सम्बर्द्धनमा लागेका हौं,’ खाँणले भने।  

कांग्रेस कमजोर भए राष्ट्र, राष्ट्रियता, संविधान र नागरिक अधिकार कमजोर हुने भन्दै उनले आगामी निर्वाचनमा थप सुद्धृढ रणनीतिका साथ गठबन्धनलाई अझ बलियो बनाउने बताए। उनले स्थानीय तहका जनप्रतिनिधिहरूको काम र व्यवहारका आधारमा जनताले राष्ट्रिय राजनीतिमा पार्टीलाई मूल्याङ्कन गर्ने पनि बताए। निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको भावना र आवश्यकता अनुरूपका काम गर्न आग्रह गर्दै उनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।  

उनले नेपाल असंलग्न परराष्ट नीतिबाट बाहिर गएर कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा संलग्न नहुने बताएका छन्। कांग्रेस नेतृत्वको सरकारको लोकप्रियताबाट आत्तिएकाहरूले सैन्य गतिविधिमा संलग्न हुन लागेको भन्ने भ्रम फिँजाएको भन्दै त्यसको खण्डन गरेका हुन्।  

नेपाललाई लाभ हुने एमसिसी जस्ता परियोजना स्वीकार गरे पनि सैन्य सहभागितासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने कुरामा सरकार प्रष्ट रहेको भन्दै उनले नेपाल असंलग्न परराष्ट नीतिबाट बाहिर नजाने बताए। एमसिसीमार्फत विद्युत् उत्पादन, रोजगारी सिर्जना र गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।  

मन्त्री खाँणले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै सुरु हुने बताएका छन्। गृहमन्त्री खाँणले सडक क्षेत्रको जोखिमका कारण कैयौले ज्यान गुमाएको र सास्ती भोग्नु परेकाले सुरुङ मार्ग निर्माणलार्ई सरकारले प्राथमिकतामा राखेको बताए। उनले आगामी आर्थिक वर्ष २०७९/८० भित्रै निर्माणको काम सुरु हुने बताए। उनले पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङ मार्ग निर्माणको काम अघि बढ्ने बताए।

प्रकाशित: १९ असार २०७९ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App