८ वैशाख २०८१ शनिबार
समाज

बाढीपहिरो जाेखिममा ७२ जिल्ला

उद्धारका लागि हेलिकोप्टर र जनशक्ति तयारी अवस्थामा

बाढीपहिरो जोखिममा ७२ जविपद्बाट धनजनको ठुलो क्षति हुने गरेको भन्दै सरकारले राहत तथा उद्धारका लागि तीनवटा प्रदेशमा नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ७२ वटा जिल्ला बाढीपहिरोको जोखिममा रहेको जानकारी दिएसँग सरकारले पूर्वतयारीका क्रममा सुरक्षा निकाय र सम्बद्ध सरोकारवालालाई परिचालन गर्न तथा राहत र उद्धारमा सहयोग पुर्‍याउन सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको हो।

सातवटै प्रदेशलाई समेट्नेगरी ती हेलिकोप्टर तयारी अवस्थामा राखेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार प्रदेश १ को इटहरी, मधेस प्रदेशको महोत्तरी र कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टरलाई तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको हो। ‘गृह मन्त्रालयले सबै प्रकारका उपाय अवलम्बन गरेको छ, नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ,’ पोखरेलले भने। उनका अनुसार गृह मन्त्रालयमा बुधबार गृहमन्त्रीले विपद् व्यवस्थापनका लागि भइरहेका कार्यहरूबारे सरोकारवालासँग जानकारी लिए।

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव भएको बताएको जानकारी प्रवक्ता पोखरेल दिए। ‘मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा विपद्मा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीलाई सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गरिएको छ,’ गृहमन्त्रीलाई उद्धृत गर्दै प्रवक्ता पोखरेलले भने। मन्त्रालयमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।  

जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाइ विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट विपद् न्यूनीकरण र व्यवस्थापन पूर्वतयारीका लागि गरिएका कामका विषयमा मन्त्रालयमा छलफल भएको थियो।

गृहले जेठ ३० मा विपद् व्यवस्थापनका लागि प्रभावकारी काम गर्न सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य गर्न मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमान्ड टोली गठन गरेको थियो । कमान्ड टोलीले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय तहसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिएको छ। ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू विपद् व्यवस्थापनका कमान्डर हुन्। उनीहरूले स्थानीय तहसँग समन्वय गर्नेछन्। विपद्का बेला उनीहरूले जिल्ला छाड्न पाउनेछैनन्,’ मन्त्रालयका प्रवक्ता पोखरेलले भने। मन्त्रालयले केन्द्र सरकारको मात्रै मुख नताक्न र भएका स्रोतसाधनको उपयोग गर्न पनि प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ।  

सशस्त्र प्रहरीले पनि मनसुनजन्य  

विपद्का लागि आफ्नो तयारी गरेको छ। मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका युनिटलाई चौबिसै घन्टा तयारी अवस्थामा राखेको जनाएको छ । मुलुकभर मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानको जोखिम बढेकाले उद्धारका लागि सशस्त्रले विपद्सम्बन्धी तालिमप्राप्त प्रहरीलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ। ‘विभिन्न ६ स्थानमा गोताखोर तालिमप्राप्त प्रहरी खटाइएको छ। जल उत्पन्न प्रकोपका बेला तत्काल उद्धारमा खटिन विभिन्न ठाउँमा गोताखोर खटाइएको छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खड्काले भने।  

उनका अनुसार प्रदेश १ को सुनसरी, वाग्मती प्रदेशको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको शमशेरगन्ज र सुदूरपश्चिम प्रदेशको कैलाली गरी ६ स्थानमा आवश्यक उद्धार सामग्रीसहित गोताखोर तयारी अवस्थामा राखिएको छ। ‘उपत्यकाका दुईवटा, कुरिनटार तालिम केन्द्र र अन्य सातैवटा प्रदेशमा तालिमप्राप्त विशेष टोली तयारी अवस्थामा खटाइएको छ,’ खड्काले भने।

सशस्त्र प्रहरी बलले प्रत्येक बाहिनीमा कम्तीमा एक प्लाटुन, सानो युनिटमा सेक्सन र ठुलो युनिटमा प्लाटुनस्तरको टोली विपत् व्यवस्थापनमा मात्र खटिने गरी राखेको छ। सशस्त्र प्रहरीले विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रूपमा यस्तो तालिम सञ्चालन गरिरहेको छ। सशस्त्र प्रहरीसँग हेबी इक्युपमेन्टसमेत रहेका कारण सबै क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएको हो।  

नेपाल प्रहरीले पनि सातवटै प्रदेशमा जनशक्तिसहित उद्धार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार पौडी तालिम प्राप्त १ हजार ९ सय ३० जनशक्ति प्रहरीले खटाएको छ। प्रहरीसँग ३१ वटा बोट र चार काठका डुंगा छन्। खोज र उद्धारका लागि कपिलवस्तु, नवलपरासी, बारा, सप्तरी, सिरहा, रौतहट, बर्दिया, बाँके, कैलाली र कास्की, पर्सा, रूपन्देही, मोरङमा २३ इन्फ्टेबल र पाँचवटा आल्मुनियम डुंगा (आउटबोर्ड इन्जिनसहित) राखिएका छन्। उद्धार र खोजमा परिचालन गर्न १० हजार जनशक्ति तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एकीकृत ढंगले काम गरे जोखिम न्यूनीकरण गर्न सकिने जनाएको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले गृह मन्त्रालयको विपद् प्रतिकार्य कमान्ड टोलीसँग सहकार्य गरेर प्राधिकरणले पनि काम गर्ने बताए। प्राधिकरणले मन्त्रालयलाई जोखिम बढेको र त्यसबारे गरिएको प्रक्षेपणबारे जानकारी गराएको छ।  

प्राधिकरणका अनुसार यस वर्ष ७२ जिल्ला बाढीपहिरोको जोखिममा छन् । ती जिल्लाका ४ लाख २१ हजार घरपरिवारका २० लाख जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । प्रवक्ता भट्टराईका अनुसार बाढीले सबैभन्दा धेरै जनसंख्या सुनसरीमा प्रभावित गर्न सक्ने देखिएको छ। त्यहाँका ४ लाख १२ हजार ७ सय ३० जना प्रभावित हुने प्राधिकरणको अनुमान छ। त्यस्तै बाढीबाट रौतहटमा १ लाख ६३ हजार ७ सय ३२ र कञ्चनपुरमा १ लाख ९ हजार ८ सय १८ जना प्रभावित हुन सक्ने अनुमान छ। त्यस्तै पहिरोबाट दोलखामा १६ हजार ७ सय १९ जना प्रभावित हुने अनुमान छ। डोटीमा १४ हजार ४ सय ६१ र प्युठानमा १३ हजार सात सय ६० जना पहिरोबाट प्रभावित हुने अनुमान गरिएको प्रवक्ता भट्टराईले बताए।  

गत वर्ष बाढीपहिरोमा परी ३ सयभन्दा बढी मानिसको ज्यान गएको थियो। विपद् व्यवस्थापन तथा पूर्वतयारी गर्ने जिम्मेवारी पाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ठाउँठाउँमा पूर्वसूचना दिने गरेको छ।

प्रकाशित: १६ असार २०७९ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App