१५ चैत्र २०८० बिहीबार
समाज

डुबान पीडितहरु आधा किलो चिउराको भरमा (तस्बिरसहित)

कटहरी गाउँपालिका–१ का बाढीपीडितहरु। तस्बिरः चुमन /नागरिक

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मोरङका ८ वटा स्थानीय तह डुबान र बाढीको बढी प्रभावित भएका छन्। डुबान र बाढीबाट विस्थापित भएकाहरुले राहतका नाममा आधा किलो चिउरा मात्रै पाएको बताएका छन्।

बाढीपीडितहरु मंगलबार बिहानदेखि बुधबारसम्म आधा किलो चिउरा र एक प्याकेट चाउचाउको भरमा बस्नु परेको गुनासो गरेका थिए। उनीहरुले सरकारले ध्यान नदिँदा आधा पेट पनि राम्रोसँग खान नपाएको बताएका छन्। बाढी आएसँगै घरबार छाडेर हिँड्नु परेको र घरमा भएका खाद्यन्न र लताकपडासमेत निकाल्न नपाएको बताए। पीडितहरु वडा कार्यालयबाट मात्रै चिउरा, भुजा र चाउचाउ दिएका छन्।  

‘हामीले अहिलेसम्म राहतका नाम आधा किलो चिउरा र एक प्याकेट चाउचाउ मात्रै पाएका छौं,’ कटहरी गाउँपालिका–१ की जुवेदा खातुनले भनिन्, ‘आफू खानु कि साना नानीहरुलाई खुवाउनु ? पाएको राहतका चिउरा र चाउचाउ बच्चाहरुलाई पनि राम्रोसँग पुगेन।’ राम्रोसँग खान पाइएको छ न कपडा नै, बस्नका लागि पनि समस्या रहेको छ, खातुनले भनिन्। 

 यस्तै पीडा सुनाइन् विराटनगर महानगरपालिका–८ की वविता कामतले। उनले पनि आधा किलो चिउरा र एक प्याकेट चाउचाउ मात्रै पाएको सुनाइन्। ‘हामी पीडितहरुप्रति सरकारले कुनै चासो देखाएको छैन,’ कामतले भनिन्, ‘घर बाढीमा पसेकाले भाडा र बाख्रामात्रै निकाल्न सक्यौं। पाल दिएपछि बाँस अरुसँग मागेर बसको छौं। हिजो (मंगलबार)देखि भोकै थियौं। आज कहाँबाट आएर चिउरा र चाउचाउ दिए।’  

यता बाढीपीडितहरुले भने राहतको महसुस नगरेको बताए। उनीहरुले आधा किलो चिउरा र एक प्याकेट चाउचारको भरमा बालबालिकासहित टेन्टको जीवन बिताइरहेको बताएका छन्।  

विपद् व्यवस्थापन समितिका संयोजक तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बाढीपीडितहरुलाई राहत र बस्ने व्यवस्था मिलाएको बताए। ‘स्थानीय निकायसँग समन्वय गरेर पीडितहरुलाई बस्ने र खाने व्यवस्था मिलाएका छौं,’ प्रजिअ दाहालले भने, ‘तत्काल पीतिडहरुका लागि त्रिपाल, म्याट्रेस, खाद्यन्नको आवश्यकता देखिएको र त्यसको जोहो पनि भइसकेको छ।’ संघीय सरकार र विभिन्न संघसंस्थाहरुसँग पनि राहतका लागि पहल गर्न अनुरोध गरिएको छ। पीडितहरुलाई वडा समितिमार्फत खाद्यन्नहरु वितरण गरिरहेका छौं, प्रजिअ दाहालले भने। 

 विराटनगर महानगरपालिकाको १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन्। बक्राहा, चिसाङ, रतुवा, सिंघिया, केसलिया खोलामा आएको बाढीले रंगेली, रतुवामाई, उर्लाबारी, बेलबारी नगरपालिकाका र कटहरी, ग्रामथान, बुढीगंगा, जहदा, कानेपोखरी गाउँपालिकाका बस्तिहरु कटान र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।  

.

प्रकाशित: १५ असार २०७९ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App